प्रदेश सभा सदस्यहरुले बजेट अध्ययन नै गर्न नपाएको गुनासो गरेपछि सरकारको विशेष अनुरोधमा बैठक एकदिन पछि सारिएको छ।
What you should know
बुटवल — लुम्बिनी प्रदेश सभाको सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेश सभा सदस्यहरुले बजेट अध्ययन नै गर्न नपाएको गुनासो गरेपछि सरकारको विशेष अनुरोधमा बैठक एकदिन पछि सारिएको हो ।
प्रदेशको आर्थिम मामिला तथा योजना मन्त्रालयले आइतवार मात्र बजेटको वार्षिक कार्यक्रम (रातो किताब) प्रदेश सभाको पिजन होलमा राखिदिएको थियो ।
आइतबार सार्वजनिक बिदा पनि भएकाले त्यो लिन नसकेको र अध्ययन गर्न नपाएको भन्दै प्रदेश सभाका सदस्यहरुले मुख्यमन्त्रीसमक्ष गुनासो गरेका थिए । त्यही गुनासो सुनुवाई गर्दै सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको बैठक एक दिनपछि सार्न विशेष अनुरोध गरेका थिए ।
त्यही अनुरोध अनुसार बैठक मंगलबार ३ बजेका लागि सारिएको हो । सरकारले असार १ गते ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक गरेको थियो । त्यसपछि प्रदेश सभाको बैठक सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको थियो । प्रदेशको आर्थिक मामिला मन्त्रालयले आइतबार बल्ल बजेटको वार्षिक पुस्तिका प्रदेश सभा सदस्यका लागि उपलब्ध गराएको थियो ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सोमबार सूचना जारी गर्दै सोमबार दिउँसो १ बजे बस्ने गरी पूर्वनिर्धारित आठौं अधिवेशनको दशौं बैठक लुम्बिनी प्रदेश सरकारको विशेष अनुरोधमा स्थगित गरिएको जानकारी गराएका हुन् । सूचनामा ‘सभामुखको निर्देशनमा उक्त बैठक अब असार ९ गते मंगलबार दिउसो ३ बजे बस्ने गरी निर्धारण गरिएको’ उल्लेख छ ।
लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (३) बमोजिम प्रदेश सभा सदस्यहरूको जानकारीका लागि बैठक स्थगित सम्बन्धी सूचना प्रकाशित गरिएको प्रदेश सभाका सचिव पुनले बताए ।
