कालीगण्डकीमा पौडी खेल्दा बेपत्ता दुई जना मृत भेटिए

कालीगण्डकीमा बिहीबार बेपत्ता भएका २४ वर्षीय पुजन गाहा र १४ वर्षीय शिशिर गाहाको शव फेला परेको हो ।

असार ६, २०८३

माधव अर्याल

Two people missing while swimming in Kaligandaki found dead

पाल्पा — कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई किशोर मृत फेला परेका छन् । बिहीबार बेलुकी पाल्पाको बगनासकाली गाउँपालिका–६ शिखरडाँडा घरभएका २४ वर्षीय पुजन गाहा र १४ वर्षीय शिशिर गाहा सोही वडाको मन्द्रानस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता थिए । 

प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा शुक्रबार शव फेला परेको हो । शिशिरको सोही स्थानमा र पुजनको टिपुवाघाटमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी भीमलाल भट्टराईले बताए ।

कालीगण्डकी नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो । बगनासकाली–७ दैलातुङमा यसअघि नयाँ वर्ष मनाउन गएका दुई युवाकोसमेत डुबेर मृत्यु भएको थियो । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully