गर्मी बढेपछि प्रतापपुर गाउँपालिकामा दुई दिन विद्यालय बन्द

अत्याधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले दुई दिन विद्यालय बिदा गरेको छ ।

असार ४, २०८३

नवीन पौडेल

Schools closed for two days in Pratappur Rural Municipality due to rising heat

परासी — अत्याधिक गर्मी बढेपछि पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले दुई दिन विद्यालय बिदा गरेको छ । चर्को घाम, तातो हावा चलेको कारण बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बिदा दिएको हो । 

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले सूचना जारी गर्दै असार ४ र ५ गते पालिकाभित्रका सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् । 

दिउँसोको समयमा बाहिर हिँडडुल गर्न कठिनाइ हुने र केही विद्यालयमा जस्तापाताको छाना भएकाले अत्याधिक गर्मी हुने कारणले बिदा गरिएको गाउँपालिकाले जनाएको छ । 

जिल्लाको सदरमुकाम परासी र आसपासको क्षेत्रमा केही दिनदेखि तातो हावा चल्ने र गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । जिल्लाका अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully