पत्रकारलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग 

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन महासंघ पाल्पाले माग गरेको हो ।

असार ४, २०८३

माधव अर्याल

Demand to arrest and bring to justice those who threatened journalists

पाल्पा — पाल्पाका पत्रकार विजय बौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन महासंघ पाल्पाले माग गरेको हो । 

नेपाल पत्रकार महासंघ पाल्पा शाखाका कोषाध्यक्षसमेत रहेका पत्रकार बौडेललाई गएराति करिब ११ बजे अज्ञात व्यक्तिले फोनमार्फत अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए । घटनापछि महासंघ पाल्पा शाखाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यको कडा शब्दमा निन्दा तथा भर्त्सना गरेको छ । विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा सञ्चारमाध्यमले सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्नु संवैधानिक तथा पेशागत दायित्व भएको उल्लेख गरिएको छ । 

प्रकाशित समाचार वा भिडियोप्रति कुनै असहमति वा गुनासो भए कानुनी तथा संस्थागत प्रक्रियामार्फत समाधान खोज्न सकिने अवस्थामा पत्रकारलाई व्यक्तिगत रूपमा धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तथा अस्वीकार्य कार्य भएको महासंघको ठहर छ । महासंघले यस्तो हर्कतलाई प्रेसविरोधी र गैरजिम्मेवार कदमका रूपमा लिँदै दोषीमाथि तत्काल कारबाही गर्न माग गरेको छ ।

पत्रकार बौडेलले घटनाबारे सम्बन्धित व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित उजुरी दिइसकेका छन् । तर हालसम्म धम्की दिने व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले गम्भीर चासो व्यक्त गरेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully