पूर्वाधार विकासमन्त्रीको भनाइप्रति निर्माण व्यवसायी आन्दोलित

व्यवसायीको मानमर्दन हुनेगरी मन्त्रीले अभिव्यक्ति दिएको भन्दै निर्माण व्यवसायी संघ प्यूठानले विरोध प्रदर्शन गरेको हो ।

असार ३, २०८३

शमशेरविक्रम जीसी

Construction entrepreneurs protest against the statement of the Minister of Infrastructure Development

प्यूठान — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दिएको अभिव्यक्तिकी विरोध गर्दै निर्माण व्यवसायीहरू आन्दोलित भएका छन् । व्यवसायीको मानमर्दन हुनेगरी मन्त्रीले अभिव्यक्ति दिएको भन्दै निर्माण व्यवसायी संघ प्यूठानले विरोध प्रदर्शन गरेको हो । 

मन्त्री लम्सालले दिएको काम नसक्ने निर्माण व्यवसायीको खुट्टा भाँच्ने अभिव्यकितले निर्माण व्यवसायी त्रसित भएको र उक्त अभिव्यक्ति सच्चाउन माग गरेको निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविनकुमार श्रेष्ठले जानकारी दिए । महंगीका कारण काम गर्नसक्ने अवस्था नहुँदा पनि निर्माण व्यवसायीले काम गरिरहेको अवस्थामा सरकारले राहत दिनुपर्नेमा धम्की र अस्वभाविक अभिव्यक्ति दिनु गलत भएको उनले बताए । 

निर्माण व्यवसायी संघ प्यूठानले प्रमुख जिल्ला अधिकारीलाई घटनाका विषयमा ध्यानाकर्षणपत्र समेत बुझाएको छ । नीति नियममा रहेर काम गर्ने निर्माण क्षेत्रलाई धरासायी र हतोत्साहित बनाउने अभिव्यक्ति सच्चाउन माग गरिएको उनको भनाइ छ ।  

विरोध कार्यक्रममार्फत मूल्य समायोजन गर्नुपर्ने, निर्माण सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाउनुपर्ने, निर्माण व्यवसायीलाई सुरक्षा र सम्मानको प्रत्याभूति दिलाउन माग समेत गरेका छन् । 

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully