कपिलवस्तुमा विशेषज्ञ चिकित्सकद्वारा सेवा, ३ हजार ७ सय ८५ जना लाभान्वित

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहको नेतृत्वमा डाक्टर, नर्सिङ स्टाफ, ल्याब र स्वास्थ्यकर्मीसहित ५३ जनाको मेडिकल टोलीद्वारा सेवा प्रदान ।

असार २, २०८३

मनोज पौडेल

Services provided by specialist doctors in Kapilvastu, 3,785 people benefited

What you should know

कपिलवस्तु —  

कृष्णनगर नगरपालिकाको शिवराज अस्पतालमा आयोजित दुईदिने निःशुल्क मुटु, मिर्गौला तथा बहु–विशेषज्ञ स्वास्थ्य शिविरमा ३ हजार ७ सय ८५ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको छ । 

काठमाडौंस्थित मिर्गौला रोग विभाग, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल), मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण केन्द्र र देवदह मेडिकल कलेजको प्राविधिक सहयोगमा आइतबार र सोमबार कृष्णनगर नगरपालिकाद्वारा शिविर आयोजना गरिएको हो । 

शिविरमा मुटुरोगसम्बन्धी १ हजार ६ सय ५ जना, मिर्गौला रोगसम्बन्धी ४ सय ८ जना र स्त्री तथा प्रसूति रोगसम्बन्धी ४ सय ६ जनाको स्वास्थ्य परीक्षण गरी उपचार गरिएको थियो । त्यस्तै मानसिक स्वास्थ्यसम्बन्धी २ सय १६ जना, हाडजोर्नी तथा नसा रोगसम्बन्धी ८ सय ३० जना तथा नाक, कान र घाँटी (ईएनटी) सम्बन्धी ३ सय २० जनालाई स्वस्थ्य सेवा प्रदान गरेर निःशुल्क औषधि वितरण गरियो ।

त्यसैगरी, शिविर अवधिमा ५ सय ९१ जनाको ईसीजी, ३ सय ८१ जनाको इको र ३ सय ६६ जनाको एक्स–रे गरिएको थियो । त्यस्तै ७ सय ६३ जनाको प्रयोगशाला (ल्याब) परीक्षण तथा ४ सय २३ जनालाई अल्ट्रासाउन्ड (यूएसजी) सेवा प्रदान गरिएको शिवराज अस्पतालका मेडिकल अधिकृत तथा शिविर कार्यक्रमका फोकल पर्सन डा. दुर्गेश चौधरीले बताए । २८ जना मुटुका बिरामी भेटिएकामा ८ वर्षमुनिका ७ जना बच्चा रहेका छन् । 

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहको नेतृत्वमा रहेको टोलीमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई, नाक, कान, घाँटी विशेषज्ञ डा. नरमाया थापा र हाडजोर्नी विशेषज्ञ डा. दीपेन्द्रसिंह क्षेत्री लगायतका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए । डाक्टर, नर्सिङ स्टाफ, ल्याब र स्वास्थ्यकर्मीसहित ५३ जनाको मेडिकल टोलीले सेवा दिएको थियो । 

गरिब र विपन्न लक्षित विशेषज्ञ शिविरबाट सर्वसाधारणले भरपुर फाइदा पाएको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बताए । ‘विशेषज्ञ सेवा मात्रै होइन, सबैलाई निःशुल्क औषधि पनि प्रदान गरिएको थियो,’ उनले भने, ‘जटिल समस्या भएका बिरामीलाई थप उपचारका लागि सुविधा भएका अस्पतालहरूमा रिफर गरिएको छ ।’

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully