घरबाटै जाहेरी दर्ता गर्न सकिने प्रणाली, भीड व्यवस्थापन, सुरक्षा निगरानी तथा अपराध अनुसन्धानमा प्रविधिको उपयोगजस्ता विषयमा नयाँ अवधारणा र समाधान खोज्ने प्रहरीको प्रयास ।
What you should know
बुटवल — आधुनिक प्रविधिको प्रयोग बढाउँदै अपराध तथा दुर्घटना नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले लुम्बिनी प्रदेश प्रहरी कार्यालयले ‘हृयाक फर सेफ्टी’ शान्ति पदयाक्रा तथा जनचेतनामूलक विशेष कार्यत्रम सुरु गरेको छ ।
प्रहरीको प्रदेश कार्यालय बुटवलको तालिम केन्द्रमा शनिबारदेखि प्रविधिको प्रयोगसँगै जनचेतनामूलक कार्यक्रम सुरु गरिएको हो । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जेठ ३० देखि असार १ सम्म ‘हृयाक फर सेफ्टी’ लुम्बिनीमा शान्ति पदयात्रा (पिस वाक) र जनचेतनामूलक विशेष कार्यक्रम आयोजना गरिएको बताए ।
उनका अनुसार समुदाय केन्द्रित अभियानमार्फत सडक दुर्घटना न्यूनीकरण, आत्महत्या रोकथाम, अपराध नियन्त्रण तथा सामाजिक सचेतना अभिवृद्धिमा विशेष जोड दिइनेछ । कार्यक्रममा सिल्पी थिएटरका कलाकारले जनचेतनामूलक नाटकसमेत प्रदर्शन गर्नेछन् । ‘हृयाक फर सेफ्टी’ अन्तर्गत प्रविधिमा रुची राख्ने युवा, विद्यार्थी, डेभलपर, इन्जिनियर तथा नवप्रवर्तनकर्तासँग जोडिएर अहिलेको सुरक्षा चुनौतीसँग जुध्नसक्ने उपायको खोजी गरिनेछ । त्यसका लागि आधुनिक प्रविधिको प्रयोगमार्फत प्रहरी सेवालाई थप प्रभावकारी बनाउने विषयमा प्रविधि क्षेत्रका युवाहरुको प्रतिस्पर्धा गराइएको छ । प्रविधि क्षेत्रमा चासो राख्ने ३ सय ४४ जनाले नाम दर्ता गराएकोमा १ सय जना बढी प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ ।
प्रतियोगिताबाट प्राप्त हुने नवीन योजना र अवधारणालाई नीतिगत रूपमा अघि बढाउने प्रहरीको तयारी रहेको डीआइजी खत्रीले बताए । ‘प्रहरीले हृयाक फर सेफ्टीको प्रतिस्पर्धाबाट छनोट भएका प्रविधिको सहयोगमा घरबाटै जाहेरी दर्ता गर्न सकिने प्रणाली, भीड व्यवस्थापन, सुरक्षा निगरानी तथा अपराध अनुसन्धानमा प्रविधिको उपयोगजस्ता विषयमा नयाँ अवधारणा र समाधान खोज्ने प्रयास हो,’ उनले भने, ‘लुम्बिनी प्रदेश प्रहरीमा रहेका विदेशमा अध्ययन र तालिम गरेर फर्केका दुई प्रहरी निरक्षकको अनुभवका आधारमा यस्तो कार्यक्रम अघि बढाईरहेका छौं ।’
आधुनिक प्रविधिको प्रयोगमा दिल्ली र मुम्बई प्रहरीको सफल कार्यान्वयनको उदाहरण दिँदै उनले नेपाल प्रहरीमा पनि यसलाई महत्वपूर्ण अभियानका रूपमा अघि बढाइएको बताए । लुम्बिनी प्रदेशबाट सुरु गरिएको यो अभियान प्रभावकारी भएमा देशव्यापी रूपमा विस्तार हुने डिआईजी खत्रीले बताए ।
‘सामाजिक प्रतिबद्धता, सुरक्षित समाज’ भन्ने नारासहित बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु हुने शान्ति पदयात्राले शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्नेछ । जनचेतनामूलक कार्यक्रम अर्न्तगत बढ्दो साइबर अपराध, लागुऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षालगायतका विषयमा युवा र समाजका सरोकारवालापाक्षसहित छलफल गरिने रूपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले बताए । कार्यक्रमले समुदाय र प्रहरीबीचको सम्बन्ध थप सुदृढ गर्नुका साथै आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री प्रहरी सेवाको विकासमा योगदान पुग्ने उनले बताए ।
