ट्रकको ठक्करबाट एक सहायक प्रहरी हवल्दारको मृत्यु, एक गम्भीर घाइते

आइतबार बिहान साढे ५ बजे अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पाडालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा दुर्घटना भएकाे हाे।

जेष्ठ ३१, २०८३

कमल पन्थी

An assistant police constable died, another was seriously injured in a truck accident.

बर्दिया — तीव्र गतिमा नेपालगन्जबाट गुलरियातर्फ आइरहेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकको ठक्करबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आइतबार बिहान साढे ५ बजे अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पाडालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका–११ स्थित हुलाकी सडक खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका गणेशपुरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले बताए।

ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपककुमारजंग शाहलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको सशस्त्र प्रहरी उपरीक्षक महतले जनाए।उक्त घटनामा तीनवटा भैंसी र एक पाडा पनि गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको बताए। उक्त ट्रक गुलरियास्थित टायल उद्योगतर्फ जाँदै गरेको थियो।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully