पूर्वी नेपाल हुँदै आएका दुई महिला र काठमाडौंमा पक्राउ परेका दुई पुरुषसहित एक नेपाली बिचौलियालाई जिल्ला अदालतले सुन चोरी र संगठित अपराध मुद्दामा थुनामा राख्न आदेश दिएको छ ।
कपिलवस्तु — पाकिस्तानबाट आएर नेपालका विभिन्न ठाउँका सुन पसलबाट गरगहना चोरी गरेको आरोपमा चार पाकिस्तानी नागरिक पुर्पक्षका लागि थुनामा गएका छन् ।
पूर्वी नेपाल हुँदै कपिलवस्तु आएर शिवराज नगरपालिकाको चन्द्रौटामा पक्राउ परेका दुई महिला र काठमाडौंबाट पक्राउ परेका उनका दुई पुरुषलाई कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले बिहीबार पुर्पक्ष थुनामा पठाउने आदेश गरेको हो ।
थुनामा जानेमा पाकिस्तानी नागरिक २१ वर्षे वेबी कसलुम र ३७ वर्षे सर्वना सवाना रहेका छन् । त्यस्तै राहदानी नम्बर यूएस १८४८०७१ भएका बेबी कसलुमका श्रीमान् २३ वर्षे इफान अली र राहदानी नं. एक्यू ५९८८१०३ भएका सर्वना सवानाका श्रीमान् ४१ वर्षे सफीउर रहमान पनि थुनामा गएका छन् ।
त्यस्तै उनीहरुको मुद्दा मिलाएर सफाइ दिने भन्दै बिचौलियाको काम गरेको आरोपमा पक्राउ परेका कास्की पोखराका सोमलाल सुवेदीलाई पनि थुना पठाइएको छ । अदालतले उनीसँग ३ लाख धरौटी माग गरेकामा बुझाउन सकेनन् ।
५ जनालाई संगठित अपराध र डाका चोरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
महिलाहरुसँग नेपाली १० देखि एक हजार रुपैयाँका नोट गरी ८६ हजार ४० रुपैयाँ नगद पनि प्रहरीले बरामद गरेको थियो । त्यस्तै दुवै पुरुषसाग १७ हजार १३६ अमेरिकी डलर, साउदी रियाल ३ सय २५, बंगलादेशी टाका एक हजार ६१५, यूएई दिराम ५ र मलेसियन रिंगेट एकसय ८५ समेत बरामद भएको डीएसपी सिंहले बताए ।
एक महिने भिसामा नेपाल आएका चारै जना २४ मार्चमा काठमाडौं आएका थिए । अप्रिल २२ सम्म उनीहरुको भिसा म्याद थियो ।
