शितगंगा नगरपालिका–१४ का किसानले सामुदायिक वनको पात संकलन गरी उत्पादन गरिएको प्रांगारिक मल प्रयोग गर्न थालेपछि रासायनिक मलको प्रयोग घटेको छ ।
What you should know
अर्घाखाँची — शितगंगा नगरपालिका–१४ पावर गाउँका हरिबहादुर टण्डनले धानको बीउ (ब्याड) उत्पादन गर्दा हरेक वर्ष रासायनिक मल राख्थे । त्यो मल खोज्न कपिलपस्तु र बुटवलका बजारमा धाउनुपर्थ्यो । अहिले रासायनिक मल किनेनन् ।
पावर सामुदायिक वनका पातपतिंगरबाट उत्पादन गरिएको प्रांगारिक र गोठे मल राखे । उनले १५ कठ्ठा खेतमा धान खेती गर्छन् । धान खेतीमा रासायनिक मल किन्ने सोच उनमा छैन् । ‘बीउसहित सबै खेतमा पातपतिंगरको प्रांगारिक मल राख्ने हो,’ उनले भने, ‘रासायनिक मल राख्दा ३० मुरी धान उत्पादन हुन्थ्यो । प्रांगारिकले अझै राम्रो फल्ने आशा छ ।’ यो आशा गर्नुको कारण यसअघि तरकारी र अन्नबालीमा प्रयोग गर्दा फल राम्रो लाग्ने र उत्पादन बढ्कोे थियो । ‘वर्षौंदेखि खेतबारीमा राख्दै आएको रासायनिक मलको सट्टा अब यही पातपतिंगरबाट उत्पादन भएको मल राख्छु,’ उनले भने, ‘यो मलले माटोको उर्वराशक्ति बढाउँछ र बालीको गुणस्तर सुधार गर्छ ।’
उनी उक्त वनको उपभोक्ता पनि हुन् । वन जोगाउन हरेक महिना जंगल धाउँछन् । हिउँदमा आगलागीबाट वन जोगाउन फायरलाइन निर्माण, बोटबिरुवा काँटछाँट, हुर्काउने, बढाउनेसहित संरक्षण गर्नमा उनी धेरै वर्षदेखि लागेका छन् । नीजि जग्गाको जस्तै सामुदायिक वनको उनलाई माया छ ।
पावर गाउँका चुरा कार्कीले अबदेखि रासायनिक मल नकिन्ने भएका छन् । गोठे मल र पातपतिंरबाट बनेको मल खेतबारीमा राखेर अन्न र तरकारी अर्गानिक उत्पादन गर्ने सोचमा छन् । उनको पावरमा २५ कठ्ठामा खेती छ । ५० क्विन्टल धान उत्पादन हुन्छ । प्रांगारिक मलले धान उत्पादनमा वृद्धि हुने अपेक्षा उनको छ । ‘प्रांगारिक मलले माटो उर्वर बनाउँछ, जसबाट खेती राम्रो हुन्छ,’ उनले भने, ‘यहाँको जमिन नै उर्वर छ । अझ प्रांगारिक मल राखेर फलेको अन्न, तरकारी महंगोमा पनि बिक्री हुन्छ ।’ गोठे र प्रांगारिक मल भएपछि रासायनिक मल नराख्ने गरी गाउँमा उपभोक्ता सल्लाह गरिइको उनले बताए ।
वन पनि स्वरोजगारको बलियो आधार छ । खेर जाने पातबाट तयार पारिएको मलबाट अर्गानिक खेती उत्पादन गर्दा कृषि र वन उद्यमबाट गाउँलाई समृद्धि बनाउने लक्ष्य राखिएको उनले बताए । पावर सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार समितिका संयोजक समेत रहेका कार्कीले अहिले उपभोक्ताका हरेक घरका परिवारले वनमा वृक्षरोपण, झाडी सफाई, रुखविरुवा काँटछाँट, पात बटुल्ने जस्ता काम गरेर आम्दानी लिएका छन् । ‘हाम्रो उद्देश्य अर्गानिक खेती गर्ने हो, जुन उत्पादन ठूला सहरमा पुग्नसक्छ’, उनले भने, ‘एउटा कृषि उद्यम र अर्को वन उद्यमलाई व्यवस्थित गरी गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउने लक्ष्य हो । रोजगारी खोज्दै विदेश धाउनुपर्ने बाध्यता हटाउने कोसिस गर्दैछौं ।’
जिल्ला सदरमुकामबाट पावर गाउँ दुर्गम भए पनि कपिलवस्तुको चार नम्बर, पिपरानजिक दुरी छ । यहाँको उत्पादन सहजै कपिलवस्तु र बुटवल रेक्सा, जिप, ट्रकमा निर्यात हुन्छ । दूध, खसीबोका, बंगुरलगायत पशुपालनमा रहेको छ।
पावरकै वीरबहादुर खाम्चाकीले ७ रोपनी खेतमा १८ मुरी धान फलाउँछन् । उनले रासायनिक मल राखेर अन्न उब्जनी खासै गर्दैनन् । गतवर्ष हिउँदमा उपभोक्तालाई दैनिक ज्याला दिएर वन जंगलभित्र भुइँमा खसेको पातपतिंगर बटुल्न लगाए । ती पात वनकै खाली ठाउँमा संकलन गरे । डिभिजन वन कार्यालयले फातलाई टुक्राटुत्रा बनाउने मेसिन उपलब्ध गरायो । त्यही पातलाई कुहाएर प्रांगारिक मल बनाउन परीक्षण गरियो ।
यहाँका पावर, बुद्ध, चारपोखरी, देउराली र बाणगंगा सामुदायिक वनका उपभोक्ताले हिउँदभर ३३ हजार किलो पातपतिंगर बटुलेका थिए । त्यही पातबाट प्रागांरिक मल बनाइयो । त्यो मल १ सय ११ उपभोक्तामध्ये ५० जनाले खेतबारीमा राखेर अन्न, तरकारी र बोटविरुवा उत्पादन गरे । वनको क्षेत्रफल १ हजार ३४ वर्गमिटर रहेको छ । वन उपभोक्ता समूहले तयार भएको मललाई प्रतिकिलो २५ रुपैयाँमा बिक्री गर्र्यो ।
अहिलेको हिउँदमा पनि वनमा खेर जाने पातपतिंगर उपभोक्ताले बटुले । वनमा दिनभर पात पटुले वापत दैनिक ७ सय रुपैयाँ ज्याला वन समूहबाट पाउँछन् । पातबाट मल उत्पादन गर्ने परीक्षण सफल भएको र उब्जनी राम्रो भएकाले मलको माग बढ्दो छ । पावर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेत रहेका खाम्चाकीले गाउँलाई रासायनिक मल प्रयोग मुक्त बनाइने बताए । ‘हरेक वर्ष वनमा झरेको पात वर्षामा भेलले बगाएर लैजान्थ्यो,’ उनले भने, ‘खेर जाने पातलाई उपयोग गरेर मल बनाएका छौं । यही मलले उत्पादन धेरै भएपछि रासायनिक मल चाहिँदैन ।’
उपभोक्ताले हिउँदभर पात सोहोरेर वन सफा बनाएका छन् । जसका कारण डढेलो लागेन । ‘पात बगेर खेर गएका थिए,’ खाम्चाकीले भने, ‘अहिलेसम्म ध्यान पुगेको थिएन । पातको मलबाट उत्पादन हुने अन्नबाली र तरकारी अर्गानिक हुन्छ ।’ पावर गाउँलाई अर्गानिक अन्न र तरकारी उत्पादन गर्ने गाउँको परिचय बनाइने उनले बताए । सबै गाउँका उपभोक्तालाई प्रांगारिक मल खेतबारीमा राख्न भनिएको उनले बताए । ‘युरिया मलबाट उत्पादन भएको तरकारी र खाद्यान्य खानलाई स्वादिलो नै हुँदैन,’ पावर गाउँका कृषक लोकनाथ खनालले भने, ‘युवा जनशक्ति नभएकै कारण बजारमा रासायनिक मल किन्न बाध्यतामा थियौं । अब खेर जाने पातबाट प्रांगारिक मल उत्पादन भएपछि अब युरिया मल किन्दैनौं ।’
उनले खेतबारीम गोठेमल र प्रांगारिक मल राख्ने बताए । पातको मलबाट उत्पादित तरकारी र खाद्यबालीले बजारमा राम्रो भाउ पाउन सक्ने उनले बताए । माग बढी भएपछि पढेलेखेका युवा कृषि उद्यममा जोडिने र गाउँमै स्वरोजगार हुने अपेक्षा उनले गरेका छन् । बजारमा अहिले अर्गानिक खाद्यान्न र तरकारीको माग बढी भएकाले कृषि उत्पादनबाट गाउँलाई स्वरोजगार बनाउने गरी योजना बनाएको खनालको भनाई छ ।
अहिलेसम्म ५ टन मल उत्पादन भएको र अब ६ टन उत्पादन गर्ने तयारी रहेको उनले बताए । पावर वनको जंगलभित्र पाततिंगरको प्लान्ट नै स्थापना गरिएको छ । डिभिजन वन कार्यालयले पातलाई टुक्राउने दुई वटा मेसिन उपलब्ध गराएको थियो । यो वर्ष थप एउटा मेसिन उपलब्ध गराइने वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए ।
सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन अन्तरगत पातबाट मल बनाइएको हो । यो व्यवस्थापनभित्र काठ उत्पादन गर्ने, हुर्काउने, रेखेदख, संरक्षण गर्दै रुख बिक्री गरेर उपभोक्ताले आम्दानी लिइरहेका छन् । जंगलभित्र भुइँमा खसेको पातलाई कुचाले बढारेर संकलन गरी डोको र बोरोमा राखेर प्लान्टसम्म उपभोक्ताले ल्याएर राख्छन् । ‘पात बटुल्दा उपभोक्ताले रोजगारी पाएका छन्,’ खड्काले भने, ‘अर्कोतर्फ वन सफा सुग्घर, वातावरण सफा र स्वच्छ हुँदा डढेलोको जोखिम नै कम हुन्छ । वनमा जंगली जनावर, किरा फट्टयांग्रा, चराचुरुंगी, जडीबुटी रुखविरुवा सबै जोगिने भए ।’
पातबाट यसरी बन्छ, प्रांगारिक मल
वनमा पात बटुलेर प्लान्टमा जम्मा गरिन्छ । मेसिनमार्फत पातलाई धुलो बनाई दुई सातासम्म पोखरीमा कुहाएर ग्रेडिङ मेसिनबाट छुट्टाएपछि खेतबारीमा राख्नको लागि मल तयार हुन्छ । त्यसलाई प्याकेजिङ वा बोरा राखिन्छ । यो मललाई खेतबारीमा राख्दा तरकारी र अन्नबाली उत्पादन दोब्बर हुने भएकाले आय आर्जनका लागि फलदाई हुने सूचना अधिकारी खड्काले बताए ।
यसरी जंगलको भुइँ नै बढारेपछि गर्मी मौसममा हुने आगलागी जोखिमका घटना कमी आएको छ । जसबाट वातावरणीय सफाई गर्दा पात बटुल्दा ठूलो संख्यामा जनशक्ति परिचालन गर्दा उपभोक्तालाई आर्थिक लाभ र अर्गानिक तरकारी तथा खाद्यबाली उत्पादनबाट स्वरोजागरको ढोका खोल्ने अपेक्षा गरिएको खड्काले बताए ।
अर्घाखाँचीमा ६३ हजार २०७ हेक्टर वन क्षेत्र रहेको छ । जसमा सामुदायिक वनको क्षेत्रफल ३४ हजार ३ सय ४२ हेक्टर छ । जिल्लामा ४ सय ६६ वटा वन समूह छन् । जिल्लाको ६ स्थानीय तहमध्ये शितगंगा नगरपालिका भित्र सबैभन्दा धेरै ४७ हजार ३ सय ६४ हेक्टर वन क्षेत्र रहेको छ । शितगंगा क्षेत्रफलका हिसाबले देशकै ठूलो नगर हो । सबैभन्दा कम मालारानी गाउँपालिकामा २ हजार ८ सय ७० दशमलव ३१ हेक्टर रहेको छ ।
