अर्घाखाँचीमा रासायनिकको विकल्पमा पतिंगरबाट मल उत्पादन

शितगंगा नगरपालिका–१४ का किसानले सामुदायिक वनको पात संकलन गरी उत्पादन गरिएको प्रांगारिक मल प्रयोग गर्न थालेपछि रासायनिक मलको प्रयोग घटेको छ ।

जेष्ठ २९, २०८३

वीरेन्द्र केसी

Fertilizer production from ants as an alternative to chemicals in Arghakhanchi

What you should know

अर्घाखाँची — शितगंगा नगरपालिका–१४ पावर गाउँका हरिबहादुर टण्डनले धानको बीउ (ब्याड) उत्पादन गर्दा हरेक वर्ष रासायनिक मल राख्थे । त्यो मल खोज्न कपिलपस्तु र बुटवलका बजारमा धाउनुपर्थ्यो । अहिले रासायनिक मल किनेनन् ।

पावर सामुदायिक वनका पातपतिंगरबाट उत्पादन गरिएको प्रांगारिक र गोठे मल राखे । उनले १५ कठ्ठा खेतमा धान खेती गर्छन् । धान खेतीमा रासायनिक मल किन्ने सोच उनमा छैन् । ‘बीउसहित सबै खेतमा पातपतिंगरको प्रांगारिक मल राख्ने हो,’ उनले भने, ‘रासायनिक मल राख्दा ३० मुरी धान उत्पादन हुन्थ्यो । प्रांगारिकले अझै राम्रो फल्ने आशा छ ।’ यो आशा गर्नुको कारण यसअघि तरकारी र अन्नबालीमा प्रयोग गर्दा फल राम्रो लाग्ने र उत्पादन बढ्कोे थियो । ‘वर्षौंदेखि खेतबारीमा राख्दै आएको रासायनिक मलको सट्टा अब यही पातपतिंगरबाट उत्पादन भएको मल राख्छु,’ उनले भने, ‘यो मलले माटोको उर्वराशक्ति बढाउँछ र बालीको गुणस्तर सुधार गर्छ ।’

उनी उक्त वनको उपभोक्ता पनि हुन् । वन जोगाउन हरेक महिना जंगल धाउँछन् । हिउँदमा आगलागीबाट वन जोगाउन फायरलाइन निर्माण, बोटबिरुवा काँटछाँट, हुर्काउने, बढाउनेसहित संरक्षण गर्नमा उनी धेरै वर्षदेखि लागेका छन् । नीजि जग्गाको जस्तै सामुदायिक वनको उनलाई माया छ । 

पावर गाउँका चुरा कार्कीले अबदेखि रासायनिक मल नकिन्ने भएका छन् । गोठे मल र पातपतिंरबाट बनेको मल खेतबारीमा राखेर अन्न र तरकारी अर्गानिक उत्पादन गर्ने सोचमा छन् । उनको पावरमा २५ कठ्ठामा खेती छ । ५० क्विन्टल धान उत्पादन हुन्छ । प्रांगारिक मलले धान उत्पादनमा वृद्धि हुने अपेक्षा उनको छ । ‘प्रांगारिक मलले माटो उर्वर बनाउँछ, जसबाट खेती राम्रो हुन्छ,’ उनले भने, ‘यहाँको जमिन नै उर्वर छ । अझ प्रांगारिक मल राखेर फलेको अन्न, तरकारी महंगोमा पनि बिक्री हुन्छ ।’ गोठे र प्रांगारिक मल भएपछि रासायनिक मल नराख्ने गरी गाउँमा उपभोक्ता सल्लाह गरिइको उनले बताए । 

वन पनि स्वरोजगारको बलियो आधार छ । खेर जाने पातबाट तयार पारिएको मलबाट अर्गानिक खेती उत्पादन गर्दा कृषि र वन उद्यमबाट गाउँलाई समृद्धि बनाउने लक्ष्य राखिएको उनले बताए । पावर सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार समितिका संयोजक समेत रहेका कार्कीले अहिले उपभोक्ताका हरेक घरका परिवारले वनमा वृक्षरोपण, झाडी सफाई, रुखविरुवा काँटछाँट, पात बटुल्ने जस्ता काम गरेर आम्दानी लिएका छन् । ‘हाम्रो उद्देश्य अर्गानिक खेती गर्ने हो, जुन उत्पादन ठूला सहरमा पुग्नसक्छ’, उनले भने, ‘एउटा कृषि उद्यम र अर्को वन उद्यमलाई व्यवस्थित गरी गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउने लक्ष्य हो । रोजगारी खोज्दै विदेश धाउनुपर्ने बाध्यता हटाउने कोसिस गर्दैछौं ।’

Fertilizer production from ants as an alternative to chemicals in Arghakhanchi

जिल्ला सदरमुकामबाट पावर गाउँ दुर्गम भए पनि कपिलवस्तुको चार नम्बर, पिपरानजिक दुरी छ । यहाँको उत्पादन सहजै कपिलवस्तु र बुटवल रेक्सा, जिप, ट्रकमा निर्यात हुन्छ । दूध, खसीबोका, बंगुरलगायत पशुपालनमा रहेको छ। 

पावरकै वीरबहादुर खाम्चाकीले ७ रोपनी खेतमा १८ मुरी धान फलाउँछन् । उनले रासायनिक मल राखेर अन्न उब्जनी खासै गर्दैनन् । गतवर्ष हिउँदमा उपभोक्तालाई दैनिक ज्याला दिएर वन जंगलभित्र भुइँमा खसेको पातपतिंगर बटुल्न लगाए । ती पात वनकै खाली ठाउँमा संकलन गरे । डिभिजन वन कार्यालयले फातलाई टुक्राटुत्रा बनाउने मेसिन उपलब्ध गरायो । त्यही पातलाई कुहाएर प्रांगारिक मल बनाउन परीक्षण गरियो ।

यहाँका पावर, बुद्ध, चारपोखरी, देउराली र बाणगंगा सामुदायिक वनका उपभोक्ताले हिउँदभर ३३ हजार किलो पातपतिंगर बटुलेका थिए । त्यही पातबाट प्रागांरिक मल बनाइयो । त्यो मल १ सय ११ उपभोक्तामध्ये ५० जनाले खेतबारीमा राखेर अन्न, तरकारी र बोटविरुवा उत्पादन गरे । वनको क्षेत्रफल १ हजार ३४ वर्गमिटर रहेको छ । वन उपभोक्ता समूहले तयार भएको मललाई प्रतिकिलो २५ रुपैयाँमा बिक्री गर्‍र्यो । 

अहिलेको हिउँदमा पनि वनमा खेर जाने पातपतिंगर उपभोक्ताले बटुले । वनमा दिनभर पात पटुले वापत दैनिक ७ सय रुपैयाँ ज्याला वन समूहबाट पाउँछन् । पातबाट मल उत्पादन गर्ने परीक्षण सफल भएको र उब्जनी राम्रो भएकाले मलको माग बढ्दो छ । पावर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेत रहेका खाम्चाकीले गाउँलाई रासायनिक मल प्रयोग मुक्त बनाइने बताए । ‘हरेक वर्ष वनमा झरेको पात वर्षामा भेलले बगाएर लैजान्थ्यो,’ उनले भने, ‘खेर जाने पातलाई उपयोग गरेर मल बनाएका छौं । यही मलले उत्पादन धेरै भएपछि रासायनिक मल चाहिँदैन ।’ 

उपभोक्ताले हिउँदभर पात सोहोरेर वन सफा बनाएका छन् । जसका कारण डढेलो लागेन । ‘पात बगेर खेर गएका थिए,’ खाम्चाकीले भने, ‘अहिलेसम्म ध्यान पुगेको थिएन । पातको मलबाट उत्पादन हुने अन्नबाली र तरकारी अर्गानिक हुन्छ ।’ पावर गाउँलाई अर्गानिक अन्न र तरकारी उत्पादन गर्ने गाउँको परिचय बनाइने उनले बताए । सबै गाउँका उपभोक्तालाई प्रांगारिक मल खेतबारीमा राख्न भनिएको उनले बताए । ‘युरिया मलबाट उत्पादन भएको तरकारी र खाद्यान्य खानलाई स्वादिलो नै हुँदैन,’ पावर गाउँका कृषक लोकनाथ खनालले भने, ‘युवा जनशक्ति नभएकै कारण बजारमा रासायनिक मल किन्न बाध्यतामा थियौं । अब खेर जाने पातबाट प्रांगारिक मल उत्पादन भएपछि अब युरिया मल किन्दैनौं ।’

उनले खेतबारीम गोठेमल र प्रांगारिक मल राख्ने बताए । पातको मलबाट उत्पादित तरकारी र खाद्यबालीले बजारमा राम्रो भाउ पाउन सक्ने उनले बताए । माग बढी भएपछि पढेलेखेका युवा कृषि उद्यममा जोडिने र गाउँमै स्वरोजगार हुने अपेक्षा उनले गरेका छन् । बजारमा अहिले अर्गानिक खाद्यान्न र तरकारीको माग बढी भएकाले कृषि उत्पादनबाट गाउँलाई स्वरोजगार बनाउने गरी योजना बनाएको खनालको भनाई छ । 

अहिलेसम्म ५ टन मल उत्पादन भएको र अब ६ टन उत्पादन गर्ने तयारी रहेको उनले बताए । पावर वनको जंगलभित्र पाततिंगरको प्लान्ट नै स्थापना गरिएको छ । डिभिजन वन कार्यालयले पातलाई टुक्राउने दुई वटा मेसिन उपलब्ध गराएको थियो । यो वर्ष थप एउटा मेसिन उपलब्ध गराइने वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए । 

Fertilizer production from ants as an alternative to chemicals in Arghakhanchi

सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन अन्तरगत पातबाट मल बनाइएको हो । यो व्यवस्थापनभित्र काठ उत्पादन गर्ने, हुर्काउने, रेखेदख, संरक्षण गर्दै रुख बिक्री गरेर उपभोक्ताले आम्दानी लिइरहेका छन् । जंगलभित्र भुइँमा खसेको पातलाई कुचाले बढारेर संकलन गरी डोको र बोरोमा राखेर प्लान्टसम्म उपभोक्ताले ल्याएर राख्छन् । ‘पात बटुल्दा उपभोक्ताले रोजगारी पाएका छन्,’ खड्काले भने, ‘अर्कोतर्फ वन सफा सुग्घर, वातावरण सफा र स्वच्छ हुँदा डढेलोको जोखिम नै कम हुन्छ । वनमा जंगली जनावर, किरा फट्टयांग्रा, चराचुरुंगी, जडीबुटी रुखविरुवा सबै जोगिने भए ।’ 

पातबाट यसरी बन्छ, प्रांगारिक मल
वनमा पात बटुलेर प्लान्टमा जम्मा गरिन्छ । मेसिनमार्फत पातलाई धुलो बनाई दुई सातासम्म पोखरीमा कुहाएर ग्रेडिङ मेसिनबाट छुट्टाएपछि खेतबारीमा राख्नको लागि मल तयार हुन्छ । त्यसलाई  प्याकेजिङ वा बोरा राखिन्छ । यो मललाई खेतबारीमा राख्दा तरकारी र अन्नबाली उत्पादन दोब्बर हुने भएकाले आय आर्जनका लागि फलदाई हुने सूचना अधिकारी खड्काले बताए । 

यसरी जंगलको भुइँ नै बढारेपछि गर्मी मौसममा हुने आगलागी जोखिमका घटना कमी आएको छ । जसबाट वातावरणीय सफाई गर्दा पात बटुल्दा ठूलो संख्यामा जनशक्ति परिचालन गर्दा उपभोक्तालाई आर्थिक लाभ र अर्गानिक तरकारी तथा खाद्यबाली उत्पादनबाट स्वरोजागरको ढोका खोल्ने अपेक्षा गरिएको खड्काले बताए । 

अर्घाखाँचीमा ६३ हजार २०७ हेक्टर वन क्षेत्र रहेको छ । जसमा सामुदायिक वनको क्षेत्रफल ३४ हजार ३ सय ४२ हेक्टर छ । जिल्लामा ४ सय ६६ वटा वन समूह छन् । जिल्लाको ६ स्थानीय तहमध्ये शितगंगा नगरपालिका भित्र सबैभन्दा धेरै ४७  हजार ३ सय ६४ हेक्टर वन क्षेत्र रहेको छ । शितगंगा क्षेत्रफलका हिसाबले देशकै ठूलो नगर हो । सबैभन्दा कम मालारानी गाउँपालिकामा २ हजार ८ सय ७० दशमलव ३१ हेक्टर रहेको छ ।  

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully