पहिरोले दुई दिनदेखि अवरुद्ध सहिद राजमार्ग स‌ंचालनमा

तालाबाङ खण्डमा पहिरो खसेर पूर्णरूपमा बन्द भएको सहिद राजमार्ग प्रहरी र स्थानीयको प्रयासमा खुलाइएको हो ।

जेष्ठ २८, २०८३

काशीराम डाँगी

Martyrs Highway, blocked by landslide for two days, resumes operations

रोल्पा — केही दिनको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएको घोराही–थवाङ सहिद राजमार्ग पुनः सञ्चालनमा आएको छ।

बुधबारदेखि अवरुद्ध  सडक प्रहरीको सक्रियतामा अवरुद्ध खुलाइएको हो। जिल्लाको परिवर्तन गाउँपालिका–१ स्थित सहिद मार्गको तालाबाङ खण्डमा ढुंगासहितको पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो।

पहिरोका कारण सडक बन्द भएपछि प्रहरी चौकी कुरेली र पुत्लाचौरबाट खटिएको टोली तथा स्थानीयवासीको प्रयासमा सडक खुलाइएको हो। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढेका छन्।

वर्षायाम सुरु भएसँगै जिल्लाका विभिन्न ग्रामीण सडकमा पहिरो खस्ने जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सबैलाई सतर्कता अपनाउन निर्देशन गरिएको बताए ।

प्रहरीका अनुसार सडक खुलाइए पनि निरन्तर वर्षा भइरहेकाले उक्त क्षेत्रमा पुनः पहिरो खस्न सक्ने सम्भावना रहेको छ। यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully