दाङको घोराही–४ का वडाध्यक्ष पदमुक्त

मधुसूदन शर्मासँगै ओखलढुङ्गा, पाल्पा, ललितपुर र मोरङका अन्य सात जना वडाध्यक्षको पद पनि दल त्यागकै कारण रिक्त भएको आयोगले जानकारी दिएको छ ।

जेष्ठ २७, २०८३

दुर्गालाल केसी

Ward chair of Ghorahi-4, Dang, removed from post

दाङ — निर्वाचन आयोगले घोराही उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष मधुसूदन शर्मालाई पदमुक्त गरेको छ । शर्माले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको भन्दै आयोगले कानुनी व्यवस्था अनुसार उक्त पद रिक्त भएको निर्णय गरेको हो ।

नेकपा एमाले केन्द्रीय समितिले २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्षमा  निर्वाचित शर्माले दल परिवर्तन गरेको जानकारी दिएपछि आयोगले पदमुक्त गर्ने निर्णय गरेको हो । एमालेको पत्रका आधारमा आयोगले शर्मा निर्वाचित भएको पद स्वतः रिक्त भएको निर्णय गरेको हो । शर्मा जेनजी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को कानुनी व्यवस्थाअनुसार पदमुक्त गरेको आयोगले बुधबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । शर्मासँगै ओखलढुङ्गा, पाल्पा, ललितपुर र मोरङका अन्य सात जना वडाध्यक्षको पद पनि दल त्यागकै कारण रिक्त भएको आयोगले जानकारी दिएको छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully