यसरी गर्न सकिन्छ पुरातात्त्विक सामग्रीको संरक्षण

भारतको मुम्बईमा मुख्यालय रहेको अनुपम हेरिटेज ल्याबका प्रमुख तथा वरिष्ठ कला संरक्षक विशेषज्ञ अनुपम शाद्वारा प्रशिक्षण ।

जेष्ठ २६, २०८३

मनोज पौडेल

This is how archaeological materials can be preserved

What you should know

लुम्बिनी — सुकिलो एप्रोन पहिरिएका प्रशिक्षार्थी चन्द्रप्रकाश पाठकको ध्यान टेबलमा राखिएका बस्तुमा केन्द्रित थियो । अलिकति ध्यान खलिबलियो कि पुरातात्विक बस्तुको स्वाभाविक रूप नबन्न सक्थ्यो । त्यसैले एकपल पनि दायाँबायाँ नहेरी ती बस्तुको संरक्षणमा केन्द्रित थिए उनी । ‘पुरातात्विक बस्तुको संरक्षणका लागि सुरुवातमा समस्या पहिचान जरुरी हुन्छ,’ कपिलवस्तु संग्रहालयका प्रमुख एवं पुरातत्त्व अधिकृत शान्ति शेर्मार्ले भनिन्, ‘पुरातात्विक अवशेषलाई माइक्रोस्कोपअगाडि राखेर तिनका समस्या पहिचान गर्दैछु ।’ 

लामो समयदेखि लुम्बिनी, रामग्राम र कपिलवस्तुमा गरिएका उत्खननमा सहभागी हुँदै आएकी उनले विदेशी विज्ञबाट पुरातात्विक बस्तुको संरक्षणबारे बुझेकी हुन् । विभिन्न मुलुकबाट आएका पुरातत्त्वविद्सँगसँगै काम गर्ने क्रममा उनले सीप सिकिन् । उक्त सीप अहिले तिखार्दै छिन् । अहिले टेराकोटा, स्टोन र आइरनबाट बनेका पुरातात्विक बस्तु छुट्याएर वैज्ञानिक विधिबाट कसरी संरक्षण गर्न सकिन्छ भन्ने सिकिरहेको उनी बताउँछिन् । यसरी सिकेका कुरा व्यवहारमा उतारेर संग्रहालयका पुरातात्विक बस्तु सुरक्षित बनाउँदा उनी दंग पनि छन् । ‘यसअघि किताबी ज्ञानमात्र थियो,’ उनले भनिन्, ‘अहिले त्यसलाई व्यहारमा उतारेर काम गर्न पाउँदा खुसी छु ।’ 

उनीजस्तै १० जनाले ऐतिहासिक तथा पुरातात्विक महत्त्वका बस्तुलाई आधुनिक प्रविधिको सहयोगमा पुरातात्विक मूल्य–मान्यता अनुसार संरक्षण गर्न सिकिरहेका हुन् । नेपालमै पहिलो पटक आधुनिक प्रविधिबाट पुरातात्विक महत्त्वका सामग्री संरक्षण (कन्जरभेसन) गर्न सिकाइएको हो । भारतको मुम्बईमा मुख्यालय रहेको अनुपम हेरिटेज ल्याबका प्रमुख तथा वरिष्ठ कला संरक्षक विशेषज्ञ अनुपम शाले प्रशिक्षण दिएका थिए ।

पुराताविक बस्तु संरक्षण गरेपछि त्यसको उपचार कसरी गरियो भनेर कम्प्युटर इन्ट्री गर्नु र मेकानिकल भए त्यसको विधि र प्रक्रिया राख्न सिकाइएको थियो । त्यस्तै केमिकल उपचार भएर कुन केमिकल प्रयोग भए र कति मात्रामा भए त्यो कुरा उल्लेख गर्नु सिकाइएको थियो । सकेसम्म म्यानुवल र मेकानिल उपचार गरेर संरक्षण गर्ने गरेको लुम्बिनी विकास कोष पुरातत्त्व महाशाखा प्रमुख पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । ‘धेरै ज्ञान र सीप सिकेका छौं,’ उनले भने, ‘आवश्यक परेमा केमिकल उपचार गर्छौं ।’ केमिकल उपचार गर्दा पनि सुरुमा पुरातात्विक बस्तुको पछाडि वा नदेखिने भागमा गरेर त्यसको प्रतिक्रिया हेरेर थप निर्णय लिने उनले बताए । 

लामो समयदेखि कोषका पुरातत्त्व अधिकृतमा रहेका उनले प्रशिक्षणले अहिले आधुनिक संरक्षणका कामलाई राम्ररी सिकाएको बताए । केमिकल प्रयोग गरेर बस्तुलाई सफा गर्ने र भाँच्चिएको भए जोडेर सग्लो, सुन्दर र सुरक्षित बनाउन पनि सिकेको प्र्रशिक्षार्थी पाठकले बताए । नयाँ नयाँ तरिकाका ज्ञान पाउँदा संरक्षणका काम गर्न थप उत्साहित भएको उनले बताए ।

बुद्ध फाउन्डेसनको सहयोगमा लुम्बिनी म्युजियममा अत्याधुनिक कन्जर्भेसन ल्याब स्थापना भएपछि जनशक्ति तयार गर्न यस्तो तालिम आयोजना गरिएको हो । लुम्बिनी म्युजियममा यूएस एम्बेस्डर फन्ड फर कल्चरल प्रिजर्भेसन कार्यक्रमको सहयोगमा बुद्ध फाउन्डेसनद्वारा आयोजित चार साता लामो (अप्रिल १८ देखि मे १८) प्रशिक्षणमा पुरातत्त्वविद्, पुरातत्त्व अधिकृत र पुरातत्त्वका विद्यार्थीलाई पुरातात्विक बस्तु संरक्षणसम्बन्धी ज्ञान, सीप र प्रविधि सिकाइएको हो । पुरातात्विक बस्तुलाई संरक्षण गर्नुअघि र गरिसकेपछिका काम र प्रक्रियाका बारेमा सिकाइएको थियो । 

प्रयोगशाला (ल्याब) मा संरक्षण कार्यका लागि उपयोग हुने माइक्रोस्कोप, फोटो ग्रामेटी उपकरण, इन्डोसकोप क्यामरा, अल्ट्रासोनिक अबलेटर र अत्याधुनिक यूभी टर्च लाइट छन् । फोटोग्राफीका सामग्री, लाइट मिटर, मोस्च्यर मिटर, डिस्टिल वाटर बनाउने मेसिन, म्यागनेटिक स्टिरर र अन्य उपकरण छन् । 

भारत सरकारको सहयोगमा निर्माण गरिएको म्युजियमको व्यवस्थापन र संरक्षण गर्न लुम्बिनी विकास कोषले बुद्ध फाउन्डेसनलाई जिम्मा दिएको छ । १ सेप्टेम्बर २०१८ मा सम्झौता गरेर ३५ वर्षका लागि म्युजिम फाउन्डेसनलाई दिइएको हो । तालिममा सहभागीलाई संरक्षणको काम सुरु गर्नुअघि सबैभन्दा पहिले संरक्षण गर्ने पुरातात्विक बस्तुको रेकर्ड लिन सिकाइएको थियो । त्यसपछि विभिन्न एंगलमा फोटाग्राफी गर्न र संरक्षण गर्ने बस्तुलाई पहिचानका लागि नयाँ नम्बर दिन सिकाइएको थियो । कम्प्युटर इन्टी गरेर माइक्रोस्कोपबाट त्यसका समस्या पत्ता लगाउन र समस्या पहिचान भएपछि त्यसलाई मेकानिक वा केमिकल उपचार के गर्ने भन्ने विषयमा समूहमा सल्लाह गरेर निर्णय लिएर काम गर्न ज्ञान दिएर संरक्षणको प्रक्रिया अघि बढाएर काम गर्न सिकाइएको थियो । 

अल्ट्राभाइलेट लाइटबाट फरक–फरक प्रकारका फलोरोसेन्स रंग कुनै पुरातात्विक बस्तुमाथि पारिए कुनै समय कसैले त्यसलाई मर्मत सम्भार गर्न खोजेको वा नयाँ बनाउन खोजेको भए स्पष्ट थाहा हुने सीप पनि सिकाइएको थियो । त्यस्तै त्यसमा प्रयोग भएका सामग्री नयाँ पुराना के हुन् भन्ने बारेमा दिने जानकारी पहिचान गर्न पनि सिकाइएको थियो । पुरातात्विक बस्तुको फोटो ग्रामेटी लिन सिकाइएको थियो । यस पटकको प्रशिक्षणमा बृहत्तर लुम्बिनी क्षेत्रमा पाइएका बेला मध्यकालका फलामको फरुवा, तीनवटा माटाका रिङ वेल, शाक्यमुनि र देवीको माटो र ढुंगाका मूर्ति गरेर एक सयवटा पुरातात्विक बस्तु संरक्षण गरिएको थियो । यसअघि गत वर्ष पनि पहिलोपटक यस्तै चार हप्ते प्रशिक्षण (अगस्त सेप्टेम्बर)लम्बिनीमा दिइएको थियो । त्यसबेला लुम्बिनी म्युजियममा ७० वटा पुरातात्विक बस्तुलाई संरक्षण गरिएको छ । 

माटोका मूर्ति र भाँडाकुँडा, ढुंगाको मूर्ति, फलामको तिर, तामाको तार, ग्रे वयेरको माटोको कचौरा लगायका पुरातात्विक बस्तु संरक्षण गरिएको थियो । संरक्षित बस्तु लुम्बिनी र कपिलवस्तु म्युजियममा प्रदर्शनका लागि राखिएको छ । गत वर्ष ६ जना तालिममा सहभागी थिए । तालिमले पुरातात्विक बस्तुको उपचार गरेर कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने ज्ञान र सीप बढेको पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत हरिप्रसाद भुसालले बताए । 

बृहत्तर लुम्बिनी आसपासका क्षेत्रमा ढाई हजार वर्ष बढी पुराना सांस्कृतिक धरोहर छन् । यसमा यहाँका बहुमूल्य मान्यता, कथा र किंबदन्ती संग्रहृत छन् । लुकेर बसेका छन् ।  मानिस जस्तै पुरातात्विक बस्तु पनि बिरामी पर्छन् । मानिसजस्तै ती बस्तु पनि धूलो र माटोमा मिल्न खोज्छन् । त्यसैले फलामबाट बनेका भए खिया लाग्छ, तामा भए हरियो रंगको अक्सिडेसन आउँछ । कागज भए अम्ल बनेर नष्ट हुन्छन्, काठ भएर गल्दै जान्छन् र कपडाका भए धागो निस्किएर खुइलिँदै गएर महत्त्वपूर्ण कला बस्तु नासिँदै जाँदा हाम्रा पुराना कलाबस्तु हराउँदै जान थालेको संरक्षणका सीप महत्त्वपूर्ण भएकाले लुम्बिनीमा आएका सिकाइएको प्रशिक्षक शाले बताए । 

शरीरमा दाना उठेर बिरामी भएको बालकलाई सबैभन्दा पहिलो उक्त दाना दादुरा, घमौरा, पिम्मल र लामखुट्टेले टोकेको के हो भनेर ठिकसँग छुट्याए उपचार गरेर निको बनाए जस्तै पुरातात्विक बस्तुलाई पनि ठिक समस्या पहिचान गरेर संरक्षण गर्न सक्यौं भने मात्र प्रभावकारी जिर्णोद्धार हने उनले बताए । संरक्षण गर्नुपर्ने पुरातात्विक बस्तुको भित्रको अवस्था के छ र कसरी उपचार गर्ने भन्ने पहिल्याउन आँखाले देख्न नसक्ने हुँदा सुरुमा एक्सरे गरिन्छ । त्यसबाट पनि समस्या पत्ता नलागे सिटी स्क्यान गरेर समस्या पहिचान गरी उपचार गर्ने गरिएको उनले बताए । 

नेपालमा एक्सरे र सिटी स्क्यान नगरे पनि इजिप्टमा सिटी स्क्यान गरेर पुरातात्विक बस्तु संरक्षण गरेको अनुभव उनले सुनाए । शा विश्वकै प्रतिष्ठित कला संरक्षका अगुवा हुन् । उनले भारत सरकारको संस्कृति मन्त्रालय, विश्व बैंक, युनेस्को, टाटा ट्रस्ट र आगा खान ट्रस्टसँग मिलेर धेरै ठाउँमा संरक्षणसम्बन्धी काम गरेका छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully