लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्रीको शपथ

पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार र जनता समाजवादी पार्टीबाट एक गरी पाँच जना मन्त्री नियुक्त भएका हुन् ।

जेष्ठ २५, २०८३

घनश्याम गौतम

Lumbini Provincial Council of Ministers reorganized, five new ministers sworn in

बुटवल — लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् सोमबार पुनर्गठन भएको छ । नवनियुक्त पाँच मन्त्रीले सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना गरी पाँच जना नयाँ मन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्रीहरू तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसीलगायतको उपस्थिति रहेको थियो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully