रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित

जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठसहित हरपालसिंह केसी, विनोद अग्रहरि र आनन्दबाबु काफ्ले प्रतिस्पर्धामा उत्रिएका थिए।

जेष्ठ २४, २०८३

रूपा गहतराज

Vivek Kumar Shrestha elected as President of RSVP Banke

नेपालगन्ज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको प्रथम जिल्ला अधिवेशनबाट विवेककुमार श्रेष्ठ सभापति पदमा निर्वाचित भएका छन्।

जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठसहित हरपालसिंह केसी, विनोद अग्रहरि र आनन्दबाबु काफ्ले प्रतिस्पर्धामा उत्रिएका थिए। नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास भए पनि सफल हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो।

रास्वपाको विधानअनुसार सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था भए पनि शनिबार भएको निर्वाचनमा चार जना उम्मेदवारमध्ये कसैले पनि उक्त सीमा कटाउन सकेनन् ।

शनिबार बढी मत ल्याउने दुई उम्मेदवार विवेककुमार श्रेष्ठ र आनन्दबाबु काफ्लेबीच पुनः मतदान गर्नुपर्ने अवस्था आएपछि आपसी सहमतिमा श्रेष्ठलाई आइतबार सभापति निर्वाचित भएको घोषणा गरिएको हो ।

मतदानमा श्रेष्ठले ८५, काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरिले ११ मत प्राप्त गरेका थिए  ।

यसैगरी उपसभापति पदमा ईश्वरी लामिछाने ११९ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गरे । सचिवमा शुभमकुमार गुप्ता १०० मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गरे  । सहसचिव पदमा फारुक गुज्जर निर्विरोध निर्वाचित भए  ।

त्यस्तै, जातीय प्रतिनिधि सदस्यतर्फ कमर जहाँ १२१ मत र दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी क्रमशः सहजाद अली जोलाहले ५७ र मनोज नेपालीले ३७ मत प्राप्त गरे  । खुला सदस्यतर्फ यमुनाकुमारी थापामगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मतसहित निर्वाचित भए  ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संगठनलाई थप सुदृढ बनाउन एकताबद्ध भई काम गर्ने बताए l

रूपा

Link copied successfully