गर्मी बढेपछि कपिलवस्तुकमा दुई पालिकाका विद्यालय तीन दिन बन्द

तातो हावासँगै अत्यधिक गर्मी बढेपछि दुबै नगरपालिकाले २५ देखि २७ जेठसम्म विद्यालयमा बिदा दिएका छन् ।

जेष्ठ २४, २०८३

मनोज पौडेल

Schools in two municipalities in Kapilvastu closed for three days due to rising heat

कपिलवस्तु — गर्मी अत्यधिक भएपछि जिल्लाका कपिलवस्तु र बाणगंगा नगरपालिकाले विद्यालयमा ३ दिन बिदा दिएका छन् । सातादेखि तातो हावासँगै अत्यधिक गर्मी भएपछि जनजीवन कष्टकर बनेको छ । 

दुबै नगरपालिकाले सूचना जारी गर्दै जेठ २५ देखि २७ सम्म विद्यालयमा बिदा दिएको जनाएको छ । आइतबार सार्वजनिक बिदा भएकाले सोमबारबाट बिदा दिइएको हो ।

गर्मीका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप गर्न गाह्रो भएको र बालबालिकाको स्वास्थ्य अवस्थामा समस्या आउन सक्ने जोखिम बढेकाले बिदा दिइएको कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख युवराज भुषालले बताए ।

यस्तै केही दिनयता बढेको गर्मीले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य भएका छन् । विभिन्न रोगको संक्रमण बढेकाले बालबालिकाको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्ने जोखिम बढेकाले विद्यालयमा बिदा दिइएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेले बताए । नगर शिक्षा समितिको निर्णय अनुसार बर्खै बिदाबाट कट्टा हुने गरी आकस्मिक बिदा दिइएको पालिकाहरुले बताएका छन् ।  

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully