शनिबार राति भएको निर्वाचनबाट अधिकांश युवाहरु नेतृत्वमा आएका छन् ।
दाङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति दाङमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राति भएको निर्वाचनबाट अधिकांश युवाहरु नेतृत्वमा आएका छन् ।
सभापतिमा लमहीका ३४ वर्षीय किरण खनाल १ सय ९६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी निवर्तमान सभापति विनय घिमिरेले १२४ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रतिस्पर्धीहरु केदार रजौरेले ६ र किरणकुमार आचार्यले २ मत प्राप्त गरेका थिए ।
उपभापतिमा २० वर्षीय निराजन थापा निर्वाचित भएका छन् । उनले २ सय ४० मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी सुनिता रावतले ८० मत प्राप्त गरेकी थिइन् । सचिव पदमा निवर्तमान सचिव असिम भुसाल २ सय मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बलिराम खत्रीले १ सय २३ मत प्राप्त गरेका थिए ।
सहसचिवमा प्रमिला रोका मगर १ सय ८४ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । निकटतम प्रतिस्पर्धी दीपक गैरेले १ सय ८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका थिए ।
सदस्यहरुमा होताराम आचार्य, रबिन्द्र केसी, प्रकाश चौधरी, प्रतापविक्रम पुन मगर, अनन्ता चौधरी, मोहन आचार्य, गोमा शर्मा, चुमान चौधरी र पवित्रा विक निर्वाचित भएको निर्वाचन संयोजक लोकमान रिजालले जानकारी दिए । ३ सय ३५ मत खसेकोमा ६ मत बदर भएको उनले बताए ।
