राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ विजयी भएका छन् । शनिबार अबेर सम्पन्न जिल्लाको पहिलो अधिवेशनबाट प्रतिद्वन्द्वी महेश जिसीलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
गुल्मी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ विजयी भएका छन् । शनिबार अबेर सम्पन्न जिल्लाको पहिलो ऐतिहासिक अधिवेशनबाट प्रतिद्वन्द्वी महेश जिसीलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
श्रेष्ठले ११८ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी महेश जिसीले ११३ मत ल्याएको निर्वाचित संयोजक रास्वपा केन्द्रीय कृषि विभाग सदस्य अशोक टण्डनले जानकारी दिए ।
त्यस्तै उपसभापतिमा प्रगति राना मगर विजयी भएका छन् । उनले १२७ मत ल्याएका थिए । प्रतिद्वन्द्वी निशेष श्रेष्ठले ९१ मत ल्याएका थिए । उपसभापतिमै उम्मेदवार दिएका भरत पाेखरेलले १४ मत प्राप्त गरे ।
सचिवमा देवराज पाण्डेले १८९ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी निरज मरासिनीले ४० मत प्राप्त गरे । साथै सहसचिवमा जेनजी सागर पाण्डे निर्विरोध निर्वाचित भएका थिए । उनी जेन्जी हुन् ।
कोषाध्यक्षमा पछि मनोनित हुने समितिका सदस्यहरुमा माया जिसी, देबिका राना, प्रेमबहादुर सुनार, भागवत गिरी, दीक्षा भण्डारी, असिम भण्डारी र तुलसा पोख्रेल विजयी भएका छन् । सदस्यरहरुमा पनि मतदान भएको थियो ।
शनिबार खुला र बन्द सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सांसद सागर ढकाल, सांसद गोविन्द पन्थी र श्रद्धा कुँवर सहभागी भएका थिए ।
