पूर्वसांसद मंगलप्रसाद गुप्ताको निधन

उनी एमालेबाट २०७९ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

जेष्ठ २४, २०८३

मनोज पौडेल

Former MP Mangal Prasad Gupta passes away

कपिलवस्तु — कपिलवस्तु–३ का निवर्तमान प्रतिनिधिसभा सदस्य मंगलप्रसाद गुप्ताको निधन भएको छ । एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य ८० वर्षीय गुप्ताको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको एमाले कृष्णननगर नगरपालिका नगर कमिटि अध्यक्ष गोपाल चण्डेलले बताए ।

एक वर्षअघि मुटुको वाईपास सर्जरी गराएका गुप्ता ‘फलो अप’का लागि ३ साताअघि दिल्ली गएका थिए । एक साताअघि दिल्लीस्थित निवासको शौचालयमा लडेर घाइतेपछि मेदान्त अस्पतालमा उपचार भइरहेको थियो ।

अवस्था सामान्य भएपछि सामान्य वार्डमा राखेर उपचार भइरहेका बेला उनको निधन भएको हो । स्वर्गीय गुप्ताका श्रीमती, दुई छोरी र चार छोरा छन् ।

उनी जिल्लाका पुराना राजनीतिज्ञ हुन् । पहिलो पटक २०३९ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापतिमा चुनावमा उठेर पराजित भएका गुप्ता २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा पनि पराजित भएका थिए । ०४३ सालदेखि निर्वाचन लड्न थालेका उनले बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक व्यवस्थाका ६ वटा निर्वाचनमा पराजय भोगेका थिए ।

तीनवटा पार्टी परिवर्तन गरेर चौथो पार्टी एमालेबाट २०७९ सालमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । २०२४ सालदेखि राजनीति थालेका गुप्ता २०४८, २०५१ र २०५६ सालमा कांग्रेसबाट जिल्लाको तत्कालीन क्षेत्र नम्बर ४ बाट संसदीय निर्वाचन लडे । २०७० र २०७४ सालको संविधानसभा सदस्य र संसदीय चुनाव तमलोपा र मधेशी जनअधिकार फोरमबाट लडेका थिए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully