प्राकृतिक पोखरीमा अब वन्यजन्तुले पानी पिउन पाउँछन्

वन्यजन्तु संरक्षण र पर्यावरण सन्तुलनका लागि अर्घाखाँचीको गैडे सामुदायिक वनमा बनाइएका पोखरीले जंगली जनावर, चराचुरुंगी तथा स्थानीय जीवजन्तुलाई वर्षभरि पानी उपलब्ध गराउनेछ ।

जेष्ठ २३, २०८३

वीरेन्द्र केसी

Wildlife can now drink water in natural ponds

What you should know

अर्घाखाँची — वन्यजन्तुको करिडोर क्षेत्र रहेको शितगंगा नगरपालिका–११ स्थित गैडे सामुदायिक वनमा दुईवटा वन्यजन्तुमैत्री प्राकृतिक पोखरी बनाइएको छ । पोखरी जंगलको बीचमा ढुंगा र माटोले बनेका छन् । वन्यजन्तु र घरपालुवा जनावरले सजिलै पानी खान सक्ने पोखरी निर्माण भएका हुन् । 

वनमा काठ र दाउरा बिक्री गरेर आएको आम्दानीबाट स्थानीय उपभोक्ताले पोखरी बनाएका हुन । १० मिटर लम्बाइ, ८ मिटर चौडाइ र १ दशमलव ५ मिटर गहिराइको पोखरी निर्माण भएको हो । पोखरीमा डिभिजन वन कार्यालय अर्घाखाँचीको डिजाइन, इष्टिमेटसहित प्राविधिक सहयोग र गैडे सामुदायिक वनको ३ लाख ६८ हजार रुपैयाँ लागत रहेको छ ।

डढेलो नियन्त्रण र जंगली जनावरलाई पानी खुवाउने उद्देश्यले पुनर्भरण पोखरी जंगलको बीचमा निर्माण भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए । ‘पोखरी वन्यजन्तुमैत्री छन्,’ उनले भने, ‘रातिको बेला पनि जंगली जनावरले सजिलै पानी खान सक्छन् । पर्यावरण, वातावरण संरक्षण र सन्तुलन राख्न ठूलो भूमिका हुन्छ ।’ पानीका स्रोत सकिने अवस्था भएकाले ग्राउन्ड वाटरले जंगल क्षेत्र पनि रिचार्ज हुने उनले बताए । 

उनका अनुसार पोखरी बनाउन सुरुमा खाडल खनेर माटोलाई पिच गरियो । त्यसपछि सानो ढुंगा राखेर, फेरि माटो राखियो । यो पोखरीमा पानी बाह्रै महिना अडिन्छ । 

‘वन्यजन्तुका लागि यो महत्त्वपूर्ण क्षेत्र हो,’ खड्काले भने, ‘कैलालीदेखि बर्दिया, दाङ, अर्घाखाँचीको शितगंगा हुँदै कपिलवस्तु र रूपन्देहीसम्म वन्यजन्तु हिँड्ने करिडोर क्षेत्र नै हो । बीचमा सडक निर्माण र बजार विस्तारले असर परेको छ ।’

अहिले रूपन्देहीको सालझन्डी–कपिलवस्तु–शितगंगा हुँदै दाङको धानखोला वन्यजन्तुको छोटो दूरीको करिडोर भएको उनले बताए ।

‘केही समयअगाडि रजिया जंगलमा सीसी क्यामरामा बाघ देखिएको थियो,’ खड्काले भने, ‘जंगलमा चितुवा, हरिण, बँदेल, मृग लगायतका जनावर र धनेस, मजुर, वनकुखुरा, गिद्ध सहित चराका दुई सय प्रजातिका यहाँ पाइन्छन् । यो वन क्षेत्र कपिलवस्तुसँग सीमा जोडिएको र मध्य तराई भएकाले तराई तथा पहाडमा पाइने सबै जंगली जनावर कपिलवस्तु–अर्घाखाँचीका वनमा आउजाउ गर्छन् ।’

पोखरी आसपास क्षेत्रमा शुक्रबार विश्व वातावरण दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतले विरुवा रोपेका थिए ।

निर्माण गरिएको पोखरीलाई सौन्दर्यकीकरण गरेर वरिपरि बिरुवा र फलफुल राख्ने तयारी भएको गैडे सामुदासयिक वनकी सचिव सीता बेल्वासेले बताइन् । दिउँसोमा टिकटक बनाउन, भिडियो खिच्ने गरी सुन्दर र रमणीय गन्तव्य बनाइने उनको भनाइ छ । ‘यसलाई पर्यटकीय क्षेत्र नै बनाउँछौं,’ उनले भनिन्, ‘वनमा काठ उत्पादन, संरक्षण, डढेलोबाट वन जोगाउनेसहित वन्यजन्तु र चरा पनि बाँचून् भनेर प्राकृतिक पोखरी बनाएका हौं । दिउँसोमा घरपालुवा जनावरले पनि त्यही पोखरीको पानी खान्छन् ।’ पोखरीमा करिब ६ सय मिटर पर मुहानबाट पाइपमा पानी ल्याइएको छ । 

गत वर्ष जंगलको बीच धरमपानीमा प्लास्टिक पोखरी बनाइएको थियो । त्यसमा प्लास्टिक निकालेर गोबर माटो र चुनाले लिपपोत गरी प्राकृतिक बनाइयो । यो वर्ष सीतापोखरीमा वन्यजन्तुमैत्री पोखरी निर्माण गरिएको उनले बताइन् । 

८ सय २३ जना उपभोक्ता रहेको वनको क्षेत्रफल  ३ सय ३८ दशमलव ९८ हेक्टर छ । आगलागी हुँदा वनभरि डढेलो फैलिन नपाओस् भनेर जंगलमा फायरलाइन बनाइएको छ । 

‘वन्यजन्तु हिँडडुल गरेको बेला तिर्खा लाग्दा टाढा धाउन नपरोस् भनेर प्राकृतिक पोखरी नै बनाएका हौं,’ वनका अध्यक्ष जुद्धबहादुर सुनारले भने, ‘वन्यजन्तु, चराहरुको संरक्षण गरे मात्रै मानव रहन्छ । पोखरी बनाएपछि वरिपरि र जंगलमा चराचुरुंगीको चिरबिर आजाव सुनिन्छ, चराहरु देखिन्छन् ।’

वनमा हेरालु पनि राखिएको छ । मासिक तलबमा दुई हेरालु राखिएको सुनारले बताए । 'कसैले बदमासी गर्लान, चरालाई ढुंगा र गुलेलीले मार्लान्, वन्यजन्तुलाई पासो थापेर वा अन्य किसिमले मार्लान् भनेर राखेका हौं,' उनले भने, 'सबै खर्च वनको काठदाउरा बिक्रीको आम्दानीबाट पूर्ति गरिनेछ ।'

वीरेन्द्र

Link copied successfully