हालको सरकार निर्माण गर्न जेनजीको प्रमुख भूमिका रहेकाले उनीहरूलाई समेटेर लैजाने सांसद सागर ढकालले स्पष्ट पारेका छन् ।
गुल्मी — राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य तथा सांसद सागर ढकालले जेनजीलाई समेटेर लैजाने बताएका छन् । शनिबार गुल्मी जिल्ला अधिवेशनको उद्घाटन गर्दै सांसद ढकालले यस्तो बताएका हुन् ।
हालको सरकार निर्माण गर्न जेनजीको प्रमुख भूमिका रहेको सांसद ढकालले बताए । 'जेनजीलाई समेटेर लैजाने छौं, यसमा ढुक्क हुनूस्,' सांसद ढकालले भने, 'चितवन महाधिवेशबाट जेनजीका लागि स्पष्ट रूपमा कोटा निर्धारण गरिनेछ ।'
सरकारले १ हजार ५ सय राजनीतिक नियुक्ति खारेज गरेको र जनताको ठूलो अपेक्षा पूरा गर्न समय लाग्ने पनि उनले स्पष्ट पारे । 'बाँदरको विषयमा सांसद गीता चाैधरीको नेतृत्वमा कार्यदल निर्माण भएको छ,' उनले भने, 'यो विषय केही न केही रूपमा नियन्त्रण गर्छौं ।'
जिल्ला अधिवेशमा पहिलो चरणमा सहमतिको प्रयास गर्ने भन्दै अधिवेशनको सफलताको शुभकामना दिएका छन् । अहिले बन्द सत्र चलिरहेको छ । सांसद सागर ढकाल, गोविन्द पन्थी र श्रद्धा कुँवर लगायत अधिवेशनमा उपस्थित छन् ।
