निर्माण कार्यमा सन्तोषजनक प्रगति नदेखिएपछि खजुरा गाउँपालिकाले अमन कन्स्ट्रक्सनसँग भएका पाँच वटा ठेक्का सम्झौता रद्द गरेको हो।
What you should know
नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै पूरा नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले पाँच वटा योजनाको ठेक्का सम्झौता रद्द गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए ।
उनका अनुसार गाउँपालिकाको विभिन्न वडामा योजना निर्माण कार्यका लागि गुलरिया–५ को अमन कन्स्ट्रक्सनसँग गरिएका पाँच वटै ठेक्का सम्झौता रद्द गरिएको हो । खजुरा–४ एफगाउँमा करिब ५०० मिटर सडक कालोपत्र गर्न २०७७ फागुन १२ मा अमन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।
कम्पनीले २०७८ जेठ ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरे पनि हालसम्म काम पूरा भएको छैन । दुई भागमा अलग–अलग ठेक्का आह्वान गरिएको उक्त योजनाअन्तर्गत ग्राभेल हाल्ने र गिट्टी बिछ्याउने काम भए पनि कालोपत्र हुन नसक्दा सडक पुन: जीर्ण बनेको छ ।
अमन कन्स्ट्रक्सनले ठेक्का पाएको एनआइसी बैंकदेखि मनकामना जाने सडक तथा नाली निर्माण, गोपालसिंह आलेको घरदेखि लालबहादुर रजालीको घरसम्मको बाटो स्तरोन्नति, तथा बिगाउ ९० नम्बरदेखि १०५ नम्बरसम्मको बाटो स्तरोन्नतिका योजना पनि वर्षौंदेखि अधुरै छन् ।
पालिकाले यी सबै पाँच वटै ठेक्का रद्द गर्ने निर्णय गरेको हो । सबै ठेक्का अमन कन्स्ट्रक्सनकै रहेका छन् । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभएकाले सम्झौता रद्द गरी कालोसूचीमा किन नराख्ने भन्दै पालिकाले गत मंसिर २ गते सार्वजनिक सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
