शनिबार अपराह्न उद्घाटन सत्र सकिएलगत्तै सुरु भएको बन्दसत्रमा पदाधिकारी र सदस्यका लागि सहमतिको प्रयास गरिएको थियो ।
पाल्पा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको तानसेनमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् । अपराह्न उद्घाटन सत्र सकिएलगत्तै सुरु भएको बन्दसत्रमा पदाधिकारी र सदस्यका लागि सहमतिको प्रयास गरिएको थियो । उपसभापतिमा निर्विरोध भएका सोमप्रसाद गैरे र सभापति भण्डारीबीच बेलुकी अबेरसम्मै रस्साकस्सी भए पनि अन्तत निर्विरोध भएको हो ।
निर्वाचन समितिका अनुसार छलफल र सहमतिको प्रयासका बीच भण्डारी र गैरे सहमतिमा आएका हुन् । तानसेन नगरपालिका–९, निवासी सभापति भण्डारी यसअघिको तदर्थ समितिकासमेत अध्यक्ष हुन् । बगनासकाली गाउँपालिका–७, खानीगाउँका गैरे यसअघि पनि उपसभापति थिए । सचिवमा चार जना आकांक्षीबीच रामपुरका हरिप्रसाद न्यौपाने, सहसचिव दिलीप घिमिरे निर्विरोध भए ।
त्यस्तै, कोषाध्यक्ष पदका लागि भने यस अधिवेशनमा निर्वाचन नगरिएको र आगामी दिनमा जिल्ला समितिले आवश्यक निर्णय गरी मनोनयन गर्ने भएको छ । सदस्यमा दुर्गाकुमारी अर्याल, अविता नेपाली, दिपेन्द्र गाहा, प्रेम राना, ईश्वरी पोखरेल निर्विरोध भएको निर्वाचन संयोजक महेन्द्र गुप्ताले जानकारी दिए । यसअघि अधिवेशनमा जिल्ला सभापति भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै पाल्पाका तानसेन र रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका लगायतमा अधिवेशन सम्पन्न भएको बताएका थिए । बाँकी स्थानीय तहमा पनि छिट्टै अधिवेशन गरिने उनले बताए । जिल्ला अधिवेशनका लागि २ सय १० जना प्रतिनिधि थिए ।
