जिल्लामा मल नपाइएको र सीमा क्षेत्रमा पनि कडाइ हुँदा किसान रित्तै घर फर्किन्छन् ।
What you should know
बर्दिया — बारबर्दिया नगरपालिका–५ का मोहन थारु बर्दियास्थित सहकारी संस्थामा मल नपाएपछि भारतीय सीमा गुलरिया–८ थपुवास्थित दशगजा पुग्छन् । जिल्लामा मल नपाइएको र सीमा क्षेत्रमा पनि कडाइ हुँदा किसान रित्तै घर फर्किन्छन् ।
उनीसँगै आएका फत्ते थारु पनि भारतीय सीमामा मल नपाएपछि निराश भएर घर फर्किन्छन् । ‘धानको बीउ राख्न ढिला बेला भयो,’ उनले भने, ‘मलको अभावमा धानको ब्याड राखेर कसरी खेती गर्ने ?’ उनी जस्तै गुलरिया–१० का कृष्ण थारुको पीडा उस्तै छ । ‘विगत केही वर्षदेखि बर्दियामा मलको अभाव भए पनि यसको स्थायी समाधान कुनै सरकारबाट भएको छैन,’ उनले भने, ‘खेती नगरे खान पुग्दैन, चुनावका समयमा मात्र मलखादको समस्या समाधान गर्ने नेताले बाचा गर्छन् ।’
हरेक दिन बिहानै किसान सीमावर्ती बजार चित्लहवालगायत चोरी नाकामा पुगे पनि पर्याप्त मल भने पाउन सकेका छैनन् । मलको कालो बजारी गर्ने भारतीय नागरिकले नेपाली सीमासम्म पुर्याउँदै आए पनि एसएसबीको कडाइले केही दिनयता ल्याउन नपाएको बताउँछन् ।
भारतमा मलको अभाव भएकाले एसएसबीले ल्याउन नदिएको भारतीय बिचौलिया शम्सुद्दिन मनिहारले बताए । गुलरिया–९ का दुबार थारुको अवस्था उस्तै छ । सरकारले समयमा मलको पर्याप्त व्यवस्था नगर्दा धान उत्पादनमा हृास आउने उनले बताए । भारतीय सीममा १ हजार ७ सय रुपैयाँ बोरा युरिया बिक्री हुने गरेको छ । बर्दियामा ५० हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
गुलरिया–८ का किसान रामसिंह थारुले सहकारी संस्थाले एक बोरा मल दिए पनि कनिका छरे जस्तो भएकोले पर्याप्त नभएको गुनासो पोखे ।
कृषि सामग्री कम्पनी, बर्दियामा मल आपूर्ति भएको छैन । युरिया मल जेठ अन्तिम सातासम्म आउने आशामा रहेको कम्पनीका निमित्त प्रमुख कृष्ण बहादुर थापाले बताए । ‘यसवर्ष ५ हजार २ सय मेट्रिक टन माग गरेका छौं,’ उनले भने, ‘वर्ष भरीका लागि करिब ८ हजार मेट्रिक टन युरिया मलको आवश्यकता छ ।’ मल पालिका मार्फत सहकारी संस्थालाई वितरण हुने गर्छ । खेती योग्य जमिन र किसान हेरेर मल वितरण हुने गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले युरियाप्रति बोरा (५० किलो) ८ सय ९४ रुपैयाँ ५० पैसा तोकेको छ । यसैगरी डिएपी प्रति बोरा २ हजार ३ सय ४४ रुपैयाँ ५० पैसा र पोटास १ हजार ७ सय ४४ रुपैयाँ ५० पैसा रहेको छ ।
