गुल्मीका महिला एकताबद्ध हुँदै आन्दोलनमा

जाहेरीमा किटानी गरिएका सम्बद्ध सम्पूर्ण दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी अनुसन्धान र कारबाही अगाडि बढाउनुपर्ने, कार्यक्षेत्रमा रहेका महिला जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र आमनागरिकको जीउधनको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नुपर्ने लगायत महिलाहरूको माग छ ।

जेष्ठ २१, २०८३

सन्तोष महतारा

Women of Gulmi unite and join the movement

What you should know

गुल्मी — जिल्लाका महिलाहरू महिला मञ्च नामबाट एकताबद्ध हुँदै आन्दोलनमा उत्रिने तयारीमा जुटेका छन् । बिहीबार पत्रकार सम्मेलनमार्फत शुक्रबारदेखि चरणबद्ध आन्दोलनमा उत्रिने जानकारी गराएका हुन् ।

जेठ ८ गते इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवर एक सत्संग कार्यक्रममा सहभागी बनेर फर्किंदै गर्दा एक समूहले गाडी रोक्ने प्रयास गरेको र चालकसहितको टोलीलाई धम्की दिने लगायतका क्रियाकलाप गरेको थियो । यो विषयमा प्रहरीमा किटानी जाहेरी पनि परेको छ ।

यद्यपि, जिल्ला प्रहरी कार्यालयले यो घटनाबारे कुनै कुरा अगाडि बढाएको छैन । जसका कारण घटना यत्तिकै मेटाउन खोजेको भन्दै गुल्मीका महिला संघ-संगठन महिला मञ्च नामबाट एकताबद्ध भई आन्दोलनमा उत्रिने तयारी गरेका हुन् ।

बिहीबार पत्रकार सम्मेलनमा बोल्दै महिला मञ्च गुल्मीबाट नेतृत्वकर्ता लक्ष्मी पन्थ पाण्डेले महिला जनप्रतिनिधि भएकै कारण भएको व्यवहार र महिला पीडित बनेर दिएको किटानी जाहेरी प्रहरी प्रशासनबाट बेवास्ता भएको बताइन् । 'हाम्रो गुनासो सुनिएन, महिला उपाध्यक्ष पीडित हुँदा त बेवास्ता हुन्छ भने सर्वसाधारण पीडित बन्दा झन् के होला !,' पाण्डेले भनिन्, 'प्रहरी प्रशासनको बेवास्तापछि हामी शुक्रबार पाँच सयभन्दा बढी महिला आन्दोलनमा उत्रिने तयारीमा छौं ।' उनले गुनासो सुनुवाइ नभए चरणबद्ध आन्दोलन अगाडि बढ्ने पनि बताएकी छिन् ।

जाहेरीमा किटानी गरिएका सम्बद्ध सम्पूर्ण दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी अनुसन्धान र कारबाही अगाडि बढाउनुपर्ने, कार्यक्षेत्रमा रहेका महिला जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र आमनागरिकको जीउधनको सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नुपर्ने, राजनीतिक वा अन्य कनै पनि बहानामा अपराधीलाई संरक्षण गर्ने र उन्मुक्ति दिने कार्य तत्काल बन्द गर्नुपर्ने महिलाहरूको माग छ ।

त्यस्तै महिला नेतृ ललिता गौतमले महिला हेपिएको विषय यत्तिकै आलटाल गर्न खोजिएकाले आन्दोलनमा उत्रिनु परेको बताइन् । उनले दोषीमाथि कारबाही हुनुपर्छ तर दुई पक्षलाई एउटा सामान्य छलफलको विषय समेत नबनाउनु समग्र महिलालाई हेपिएको अनुभूति भएकाले सशक्त आन्दोलन गर्नेतर्फ लाग्नुपरेको बताइन् ।

महिला नेतृ  गीता थापाले आन्दोलनमा एकताबद्ध बन्न आग्रह गर्दै दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउनुपर्ने माग राखेकी छिन् ।

सन्तोष

Link copied successfully