विद्यालय बिदा भएर घर फर्किने क्रममा एक्कासि आएको बाढी र भेलसहितको खोला तर्न खोज्दा दुवै बालकलाई बगाएको हो।
रोल्पा — रोल्पाको पश्चिमी भेग गंगादेव गाउँपालिका–६ रातामाटास्थित खहरे खोलाको भेलले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ। बुधबार साँझ विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा उनीहरूको ज्यान गएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा गंगादेव गाउँपालिका–६ रातामाटा निवासी निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र स्थानीय सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर केसी छन्। दुवै जना स्थानीय बृद्धि विकास माध्यमिक विद्यालयमा अध्ययनरत थिए। विद्यालय बिदा भएर घर फर्किने क्रममा एक्कासि आएको बाढी र भेलसहितको खोला तर्न खोज्दा दुवै बालकलाई बगाएको हो।
प्रहरी चौकी जिनावाङबाट खटिएका प्रहरी र स्थानीयको पहलमा बालकको खोजी गरिएको थियो। बुधबार खहरे खोलामा आएको भेलमा परी बालकहरू बेपत्ता भएकामा प्रहरी र स्थानीयवासीले बेलुका मात्रै जानकारी पाएका थिए । सूचना प्राप्त हुनासाथ जिनावाङ र घर्तीगाउँबाट थप प्रहरी टोली घटनास्थलतर्फ खटिएर खोजी गर्दै जाँदा निकै तल बालकको शव फेला पारिएको थियो।
घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए । घटनास्थल रोल्पा सदरमुकाम लिवाङदेखि करिब ७० किलोमिटर पश्चिममा पर्छ।
