सोमबार जिल्ला अधिवेशन हुँदै ।
बुटवल — देशभर संगठन विस्तार र नयाँ नेतृत्व चयनको अभियान संचालन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देहीका १६ स्थानीय तहमध्ये बिहीबारसम्म १५ पालिकाको अधिवेशनबाट नेतृत्व चयन गरेको छ । १५ मध्ये ६ स्थानीय तहमा निर्विरोध र ९ वटामा निर्वाचनबाटै नेतृत्व चयन गरिएको हो ।
जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाको अधिवेशन हुन बाँकी छ । त्यसबाहेक मर्चवारी, सम्मरीमाई, मायादेवी, शुद्धोधन, सियारी गाउँपालिका र सैनामैना नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सिद्धार्थनगर, देवदह नगरपालिकामा निर्वाचनबाटै नेतृत्व चयन भएको छ । त्यस्तै ओमसतिया, कञ्चन, कोटहीमाई, रोहिणी र गैडहवा गाउँपालिकामा पनि निर्वाचनबाटै नेतृत्व चयन भएको छ ।
अधिकांश स्थानीय तहमा निर्वाचनबाट नयाँ व्यक्ति नै नेतृत्वमा आएको सभापति डा. शर्माले बताए । ‘सबै दलमा रूपन्देही नेताका लागि उर्वर भूमि हो,’ उनले भने, ‘त्यो समस्या हाम्रोमा पनि उस्तै छ, त्यसैले धेरै स्थानमा सर्वसम्मतको प्रयास गर्दा पनि सकिएन, निर्वाचनबाटै नेतृत्व चयन गरेका छौं ।’
निर्वाचन भएका केही स्थानमा सभापतिका लागि मात्र, केहीमा पदाधिकारीका लागि र धेरैमा सदस्यसहित निर्वाचनबाट नयाँ समितिहरु गठन भएको उनले बताए । आइतबारसम्ममा लुम्बिनी सांस्कृतिक नगरपालिकाको पनि अधिवेशन गरेर सोमबार जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको रास्वपाले जनाएको छ ।
