गोरुको मुख माटोमा गाड्ने जालिराम पक्राउ

जालिरामले गोरुको नाक, मुख माटोमा गाडी, कुटी, हिर्काइ भिडियो बनाई फेसबुक र टिकटकमा पोस्ट गरेका थिए ।

जेष्ठ २१, २०८३

शमशेरविक्रम जीसी

Jaliram arrested for burying cow's mouth in soil

प्यूठान — गोरुलाई निर्दयी व्यवहार गरी सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । खेतमा जोतिरहेका बेला नहिँडेपछि गोरुको नाक र मुख माटोमा गाडेका जालिराम थापालाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार गौमुखी गाउँपालिका वडा नं १ बस्ने ३६ वर्षीय जालिरामलाई पक्राउ गरिएको हो । जालिरामले गोरुको नाक, मुख माटोमा गाडी, कुटी, हिर्काइ  भिडियो बनाई  फेसबुक र टिकटकमा पोस्ट गरेको भट्टराईले जानकारी दिए । 

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कुसरमा मुद्दा दर्ता गरिएको उनले बताए ।  जिल्ला प्रशासन कार्यालय प्यूठानबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ । 

शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

Link copied successfully