जलवायु परिवर्तन, वन विनाश र युवा पुस्ताको चासो घट्दै जाँदा जेलबाङमा भीर माैरीको मह शिकार परम्परा हराउने जोखिम बढ्दो छ।
What you should know
रोल्पा — जिल्लाको जेलबाङ क्षेत्रमा पाइने भीर माैरीको माग र चर्चा सबैतिर हुने गरेको छ। विभिन्न जडीबुटीको रसबाट उत्पादन हुने भीर माैरीको मह निकै लोकप्रिय छ। स्थानीयले ज्यान जोखिममा राखेर अग्ला भीर चढेर मह निकाल्छन्। मह निकाल्नुलाई स्थानीयले महको शिकार गर्न भन्छन् ।
स्थानीय एवं पर्यटन व्यवसायी बाल्कुराम पुनले निकै जोखिमपूर्ण भए पनि मह शिकार गर्ने परम्परागत शैली जीवित रहेको बताए । 'मह निकाल्ने यो परम्परागत पेशा अहिले अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको ‘म्याड हनी’ उत्पादनसँग जोडिएपछि थप आकर्षण बढेको हो,' उनले भने।
भीरका काप्चामा रहेको महको शिकार गरी संकलन गरिएको एक धार्नी महको मूल्य ७ हजार रुपैयाँ छ। यहाँको भीरबाट एक वर्षमा ८० धार्नी मह निकाल्ने गरिएकाे छ । जेलबाङ गाउँको माथिल्लो भेगमा भएको भीरमा मात्रै मह पाइन्छ।
उच्च पहाडी क्षेत्रमा ‘एपिस डोरसाटा लाबोरिओसा’ जातको माहुरीले लालीगुराँसलगायत फूलबाट रस संकलन गरी बनाउने महलाई ‘म्याड हनी’ वा ‘रेड हनी’ भनिन्छ। उक्त महमा प्राकृतिक रूपमा पाइने ‘ग्रेयानोटोक्सिन’ नामक रसायनका कारण सेवन गर्दा हल्का मात लागेजस्तो अनुभव हुने स्थानीयको अनुभव छ।
स्थानीयले परम्परागत डोरी, बाँसका भर्याङ र धुवाँको सहायताले अग्ला भीरमा झुन्डिएर मह निकाल्ने गर्छन्। स्थानीयले मह शिकार गर्नुअघि सिमे–भुमे देवताको पूजा गर्ने चलन छ। मह शिकार गरेको हेर्न जिल्ला बाहिरबाट पनि आउने गरेको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार भीर मौरीको महलाई औषधीय गुणयुक्त मानिन्छ। भीर माैरीको महको खोजी स्थानीय देखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय तहसम्म हुने गरेको छ। महको शिकार गर्दा अत्यन्तै जोखिम हुने भएकाले भीरबाट लड्ने, मौरीको आक्रमणमा पर्ने तथा महको अत्यधिक सेवनबाट स्वास्थ्यमा गम्भीर असर पर्ने खतरा रहने स्थानीय बताउँछन्।
अर्काेतिर जलवायु परिवर्तन, वन विनाश र नयाँ पुस्ताको यो जोखिमपूर्ण पेशाप्रतिको घट्दो आकर्षणका कारण भीरमौरी शिकार परम्परा संकटमा पर्ने चिन्ता पनि बढेको बाल्कुराम बताउँछन्। स्थानीय अगुवाले यो मौलिक संस्कृति तथा प्राकृतिक सम्पदाको संरक्षणका लागि राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।
