लुम्बिनीका ४ मन्त्रीको राजीनामा स्वीकृत

नयाँ मन्त्री नियुक्तिका लागि प्रक्रिया चल्दै, कांग्रेसका मन्त्रीलाई पनि राजीनामा दिन दबाब बढ्यो ।

जेष्ठ २०, २०८३

घनश्याम गौतम

Resignations of 4 Lumbini ministers accepted

What you should know

बुटवल — सामूहिक राजीनामा बुझाएका लुम्बिनी प्रदेशका ४ जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।

लुम्बिनीका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, स्वास्थ्यमन्त्री खेमबहादुर सारु मगर, कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले बुधबार बिहान राजीनामा दिएका थिए । 

मुख्यमन्त्री चेतनारायण आचार्यले चारै जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाएका छन् । स्रोतका अनुसार नयाँ मन्त्रीका लागि बाँकेका रत्नबहादुर खत्री, गुल्मीका डिल्लीराज भुसाल, अर्घाखाँचीका रामजी घिमिरे र रुपन्देहीका तुलसीप्रसाद चौधरी बन्ने सम्भावना छ । मन्त्रालयको टुंगो नलागेको र बुधबार नै मन्त्रालय टुंगो लगाउने तयारी भइरहेको मुख्यमन्त्री आचार्यका स्वकीय सचिव प्रदीप नेपालीले बताए । मन्त्रीहरूको राजीनामा स्वीकृत भएपनि नयाँ मन्त्रीको सिफारिस र शपथ भने शुक्रबार अघि नहुने भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर लुम्बिनी प्रदेश बाहिर रहेकाले तत्काल नयाँ मन्त्रीको शपथ नहुने भएको हो । 

लुम्बिनी प्रदेशमा अहिले एमाले संसदीय दलका नेता चेतनारायण आचार्य मुख्यमन्त्री छन् । कांग्रेसले पूर्वसहमति अनुसार नेतृत्वसहित सरकार परिवर्तन गर्ने अडान लिँदै आएको छ । जेठको पहिलो साता नै मन्त्री फेर्ने प्रयास भएपनि कांग्रेस संसदीय दलले मुख्यमन्त्रीसहित एकैसाथ सरकार पुनर्गठन गर्ने भनेपछि मन्त्री फेर्ने विषय लम्बिएको थियो । तर, एमालेका मन्त्रीले राजीनामा गरेपछि कांग्रेसबाट मन्त्री बनेकाहरूलाई पनि दबाब बढेको छ । कांग्रेस भित्र पनि मन्त्री बन्ने पर्खाइमा रहेकाहरूले मन्त्रीलाई दबाब सिर्जना गर्न थालेका छन् । 

कांग्रेसको केन्द्रीय नीति विभागको आयोजनामा मंगलबार र बुधबार बुटवलमा चलेको जरा अभियानको उद्घाटन गर्न आएका बेला सभापति गगन थापाले राम्रो बजेट ल्याउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए । उनले मन्त्री फेर्ने विषय बजेटको तयारी अन्तिम हुन लागेका बेला भन्दा बजेट आइसकेपछि फेर्दा उपयुक्त हुने सुझाव दिएका थिए । त्यसैले ढुक्क बनेका कांग्रेसका मन्त्रीलाई एमालेका मन्त्रीको राजीनामाले दबाब बढाएको हो । जेठ ११ गते बसेको कांग्रेस संसदीय दलको बैठकले भने मन्त्री मात्र फेरबदल नगरी मुख्यमन्त्रीसहित मन्त्री फेर्ने गरी केन्द्रबाटै पहल गर्न अनुरोध गर्ने निर्णय गरेर पत्र पठाएको थियो । 

कांग्रेस सभापति अमरसिंह पुनले बजेट नजिक आएकाले मन्त्री मात्र फेर्ने कि बजेट पछि नेतृत्वसहित फेर्ने भन्ने अन्योल नै रहेको बताए । ‘अब कांग्रेसको नेतृत्वमा मन्त्रीमण्डल नै हेरफेर गर्ने सहमति अनुसार नै अघि बढेका छौं,’ उनले भने, ‘तर बजेट अघि नै मन्त्री मात्र फेर्ने कुरामा अझै अलमल नै छ ।’ नयाँ मन्त्री आएपनि अहिले भएका मन्त्रीको सहयोगमै बजेट बन्ने भएकाले ठूलो समस्या नहुने उनले बताए । 

लुम्बिनी प्रदेश सरकारले साउन १ गतेदेखि ८ मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । सरकारले नीति कार्यक्रममा पनि उक्त विषय प्रमुखताका साथ उल्लेख गरेको छ । तर, कांग्रेससँगको सहकार्यमा मुख्यमन्त्री पाउने दलले तिन मन्त्री पाउने र अर्को दलले ४ मन्त्री लिने यस अघिकै मौखिक सहमति छ । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully