सशस्त्र प्रहरीलाई दुर्व्यवहार गरेकाले अंगद मुराउलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । उनले यसअघि पनि तस्करी गर्दा फक्राउ पर्ने डरले दुईपटक मोटरसाइकल जलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ — भारतबाट तरकारी चोरी तस्करी गरेर ल्याइरहेका बेला सशस्त्र प्रहरीको चेकजाँचबाट जोगिन यशोधरा गाउँपालिका–२, हर्दिहवाका २८ वर्षे अंगद मुराउले आफ्नै मोटरसाइकलमा आगजनी गरेका छन् ।
मोटरसाइकलमा खुर्सानी र पिँडालु बोकेर आइरहेका बेला बर्गदवा–पुर्निहवा सडक खण्डअन्तर्गत पश्चिम भडेहरमा गस्तीमा रहेको बीओपी मर्यादपुरको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि भाग्ने प्रयास गरेका थिए । भाग्न नसकेपछि तरकारी बोकेको भारतीय नम्बरको मोटरसाइकलको पेट्रोल ट्यांकीको पाइप झिकेर मोटरसाइकलमा आगजनी गरेको मर्यादपुर बीओपीका सशस्त्र प्रहरी प्रमुख निरीक्षक हरित बडुवालले बताए ।
आगजनीबाट मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । मोटरसाइकलमा रहेको करिब ढाई क्विन्टल खुर्सानी र पिँडालुमध्ये आधी जलेर नष्ट भएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा चोरी तस्करी हुन नदिन निगरानी र गस्ती बढाएको सशस्त्र प्रहरी निरीक्षक बडुवालले बताए ।
मुराउ मोटरसाइकल छाडेर भाग्न खोज्दा सशस्त्र प्रहरीले पक्राउ गरेपछि उल्टै प्रहरीलाई दुर्व्यवहार गरेकाले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । उनले यसअघि पनि तस्करी गर्दा फक्राउ पर्ने डरले दुईपटक मोटरसाइकल जलाउने प्रयास गरेका थिए ।
