दाउन्ने खण्डमा ९३ प्रतिशत सडक बिस्तारको काम सकिएपछि यात्रुले घण्टौंको जाम र धुलोको सास्तीबाट राहत पाएका छन्।
What you should know
परासी — बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने क्षेत्रमा सात वर्षदेखि जाम, हिलो र धुलोको सास्ती केही कम भएको छ । दाउन्ने खण्डको सबैभन्दा बढी सवारी अवरुद्ध हुने विश्वकर्मा बाबा मन्दिर, पैसठ्ठी मोडलगायतको क्षेत्रमा सडक ढलान भएपछि यात्रा सहज हुन थालेको हो ।
१०/१२ घण्टासम्म जाममा बस्नुपर्ने अवस्था भोगेका यात्रुले अहिले दाउन्ने खण्डको १४ किलोमिटर सडक बढीमा आधा घण्टामा पार हुन थालेको यात्रु गोबिन्द चापागाईले बताए । ‘दाउन्ने भन्ने बित्तिकै यात्रा नै नगरौं जस्तो हुन्थ्यो । ढिलै भए पनि सडक निर्माण भएर सहज भएको छ,’ उनले भने,‘अब बुटवलबाट नारायणगढ बढीमा साढे दुई घण्टामा पुगिन्छ ।’
विस्तारकोक्रममा रहेको बुटवल–नारायणगढ खण्ड अन्र्तगत दाउन्ने क्षेत्रमा ९३ प्रतिशत भन्दा बढी काम भएको छ । यात्रुले सबैभन्दा बढी सास्ती र घण्टौं जाममा बस्नुपर्ने समस्या भोगिरहेको १४ किलोमिटरमध्ये अधिकांश भागमा ढलान र कालोपत्र गरिएको सडक बिस्तार आयोजनाले जनाएको छ ।
जेठ १५ सम्ममा दाउन्नेमा ढलानको काम सक्ने योजना भए पनि पश्चिम खण्डमा पर्ने दाउन्ने बजार र खुर्सानी खोलामा १ सय ९० मिटर काम बाँकी रहेको आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी विकास खनालले बताए । यो खण्डको काम समयमै नभएपछि चौथो पटक म्याद थप भएको थियो । पूर्वी खण्डको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म थप भएको छ ।
२०७५ चैतबाट काम सुरु भएर ४४ महिनामा सम्पन्न हुनुपर्ने आयोजना तेस्रो पटक म्याद थप भएको हो । चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दुई खण्डको १ सय १४ किलोमिटर सडक विस्तारको काम गर्न १७ अर्बमा ठेक्का लिएको थियो ।
