सातादेखि अनियमित विद्युतले रोल्पामा इन्टरनेट सेवा प्रभावित

रोल्पा जिल्लाका विभिन्न क्षेत्रमा सातादेखि नियमित विद्युत आपूर्ति नहुँदा इन्टरनेट, सञ्चार, बैंकिङ, शिक्षा र सरकारी सेवा प्रभावित भएका छन्।

जेष्ठ १८, २०८३

काशीराम डाँगी

Internet service affected in Rolpa due to irregular power supply for a week

What you should know

रोल्पा — जिल्ला सदरमुकामसहित विभिन्न क्षेत्रमा लामो समयदेखि विद्युत आपूर्ति अनियमित हुँदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको छ । विद्युत सेवा अवरुद्ध भएसँगै अधिकांश स्थानमा इन्टरनेट र केही ठाउँमा सञ्चार सेवा पनि ठप्पजस्तै बनेको छ। यसबाट दैनिक कामकाजदेखि बैंकिङ, सञ्चार र शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन् ।

विद्युत अनियमित भएपछि मोबाइल टावर र इन्टरनेट सेवा प्रदायकका उपकरण सञ्चालनमा समस्या हुन थालेको हो। कतिपय स्थानमा ब्याकअप पावर सकिएपछि मोबाइल डेटा र वाइफाइ सेवा पूर्णरूपमा बन्द भएपछि स्थानीय मर्कामा परेका हुन्। इन्टरनेट र टेलिफोन सेवा विद्युतीय सेवामा अनियमितता आएकाले समस्या आइपरेको नेपाल टेलिकम रोल्पाका प्रमुख कैलाश आचार्यले बताए ।

रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, थवाङ, गंगादेव तथा त्रिवेणी क्षेत्रका बासिन्दाले पटक–पटक विद्युत जाने र लामो समयसम्म नआउँदा समस्या झेल्नुपरेको गुनासो गरेका छन् । लिवाङका लेखापढी व्यवसायी अर्जुन डाँगीले विद्युत नहुँदा व्यापार व्यवसाय प्रभावित भएको बताए । 'बिजुली नहुँदा इन्टरनेट चल्दैन, अनलाइनको काम हुँदैन । साथै व्यापार व्यवसायमा पनि भुक्तानी रोकिन्छ । यसले बैंकिङ सेवा प्रभावित भएको छ,' उनले भने, 'अहिले धेरैजसो काम प्रविधिमा निर्भर छन्, विद्युत र नेट नहुँदा काम ठप्प जस्तै हुन्छ ।'

विद्युत सेवा अभावमा विद्यालयका कक्षादेखि सरकारी कार्यालयको काम समेत प्रभावित भइरहेको छ। अनलाइन अध्ययन सामग्री डाउनलोड गर्न, फाराम भर्न तथा परीक्षा सम्बन्धी काम गर्न समस्या भएको लिवाङस्थित जलजला बहुमुखी क्याम्पसमा अध्ययनरत छात्र ल्हिम बहादुर सुनारले बताए । सरकारी कार्यालय तथा स्थानीय तहका सेवाग्राहीले समेत अनलाइन प्रणाली नचल्दा सेवा लिन सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका अनुसार एक सातादेखि प्युठानको झिम्रुकस्थित विद्युत उत्पादन गृहमा समस्या आएपछि नियमित आपूर्ति हुन नसकेको हो। अवरुद्ध लाइन मर्मतका लागि प्राविधिक टोली खटिएको कार्यालयले जनाएको छ ।

यता इन्टरनेट सेवा प्रदायकहरूले पनि विद्युत अभावकै कारण सेवा प्रभावित भएको बताएका छन् । विद्युत नियमित नहुँदा टावर तथा उपकरण सञ्चालन गर्न कठिन भएको उनीहरूको भनाइ छ । स्थानीयले जिल्लामा पटक–पटक हुने विद्युत अवरोधको दीर्घकालीन समाधान खोज्न माग गरेका छन् ।  

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully