टिपरको ठक्करबाट दाङमा बाबुछोराको मृत्यु

टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

जेष्ठ १८, २०८३

दुर्गालाल केसी

Father and son die in Dang after being hit by a tipper truck

दाङ — टिपरको ठक्करबाट तुलसीपुरमा दुईजनाको मृत्यु भएको छ । गुल्म चोकमा सोमबार बिहान रा १ ख २१९२ नम्बरको टिपरले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रेशम बोहोराले बताए ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार लमही नगरपालिका-५ का ३५ वर्षका मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिरान्स नेपाली रहेको उनले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते बाबुछोरालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको थियो । छोरा मिरान्सको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा र बाबु मनोजको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको थियो ।

मोटरसाइकलमा सवार मृतक मनोजकी श्रीमती ३४ वर्षीया अनुसा घाइते भएको र उनी उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 

टिपर र चालक शेरबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डीएसपी बोहोराले बताए । 

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully