पाल्पाको निस्दीमा कक्षा १२ उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्नेलाई नगदसहित पुरस्कृत

बालविवाह न्यूनीकरणका लागि सचेतना जगाउन तथा महिलालाई शिक्षामा आकर्षित गर्न नगदसहित सम्मान गरेको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रा गहतराजले बताइन् ।

जेष्ठ १६, २०८३

माधव अर्याल

In Nisdi, Palpa, those who pass grade 12 and get married after 20 years will be rewarded with cash.

What you should know

पाल्पा — चालु आर्थिक वर्षमा बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको पाल्पाको निस्दी गाउँपालिकामा २० वर्ष उमेर पुगेर कक्षा १२ उत्तीर्ण गरी विवाह गर्ने २७ जना महिलालाई नगदसहित सम्मान गरिएको छ । 

आर्थिक वर्ष २०८१ साउन १ देखि २०८२ वैशाख ३१ गतेसम्म निस्दी गाउँपालिकाभित्र स्थायी बसोबास गरिरहेका कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलालाई प्रोत्साहन पुरस्कार दिइएको हो । आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा गाउँपालिकाका आयोजित कार्यक्रममा सातवटै वडाबाट प्रतिनिधित्व गर्ने महिलालाई प्रोत्साहन स्वरुप ५ हजार नगद, दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको छ । सम्मानित हुनेहरूसँग वडा कार्यालयमार्फत नागरिकताको प्रमाणपत्र, कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि माग गरेको थियो ।

बालविवाह न्यूनीकरणका लागि सचेतना जगाउन तथा महिलालाई शिक्षामा आकर्षित गर्न नगदसहित सम्मान गरेको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रा गहतराजले बताइन् । उनले महिलालाई उद्यमसँग जोड्न सकियो भने अझ यस्ता कार्य प्रभावकारी हुने बताइन् । २०७९ सालसम्म २ सय ७६ जोडीले बालविवाह गरेको निस्दी गाउँपालिकामा चालु आर्थिक वर्षमा भने सात जोडीमा सीमित बनेको गाउँपालिका उपाध्यक्ष तिरनकुमारी श्रेष्ठले बताइन् । सात जोडीलाई समेत पालिकाले उमेर नपुग्दै विवाह गरेको भन्दै आ–आफ्नो घर फिर्ता गरेको उनले बताइन् । 

निस्दी गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणाका लागि विभिन्न कार्यक्रम संचालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर चितौरेले बताए । गाउँपालिकाले त्यस्ता महिलालाई सम्मान गर्न एक महिनाअघि नै सूचना जारी गरेर वडामार्फत आवेदन माग गरेको थियो । अधिकार दिवसकै अवसरमा आधारभूत तह, एसईई, कक्षा १२ मा निस्दी गाउँपालिकाभित्रबाट उत्कृष्ट अंक ल्याउनेलाई पनि नगद, दोसल्ला, सम्मानपत्रसहित सम्मानित गरिएको छ । 

यसैगरी पालिकाभित्रबाट अघिल्लो वर्ष स्नातकोत्तर तह उत्तीर्ण गर्ने एक जना महिलालाईसमेत नगदसहित सम्मान गरिएको छ । यस्तै निस्दी गाउँपालिकाभित्र सहकारी दर्ता गरी उद्यम विकासमा अन्तर्राष्ट्रिय क्षेत्रमा अदुवा र सिमी पठाउन सफल गल्धा सामाजिक उद्यमी महिला सहकारीलाईसमेत नगदसहित सम्मान गरिएको महिला विकास शाखा प्रमुख तथा बालअधिकार अधिकृत कुस्माखर पाण्डेयले बताए । 

महिलालाई उच्च शिक्षा ग्रहण गर्न उत्प्रेरित गर्न तथा बालविवाह न्यूनीकरणमा सचेतना जगाउन कार्यक्रमले सहयोग पुग्ने बालमैत्री फोकल पर्सन कुस्माखर पाण्डेयले बताए । ‘बालविवाहको दर घटाउन यस्ता कार्यक्रमले सहयोग पुगेको छ,’ उनले भने । बालमैत्री पालिका घोषणाको लागि अभियान सञ्चालनका लागि बालविवाह न्यूनीकरणसँगै महिलालाई शिक्षातर्फ प्रेरित गर्न प्रोत्साहन पुरस्कारले सहयोग पुग्ने विश्वास पालिकाको रहेको प्रवक्ता मेखबहादुर सुनारीले बताए । 

गाउँपालिकाले महिलालाई उच्च शिक्षामा आकर्षित गर्न यसअघि स्नातकोत्तर उत्तीर्ण महिलालाई पुरस्कृत तथा सम्मान गरेको उनले बताए । निस्दी महिला समन्वय समितिकी अध्यक्ष पुष्पा सारु, कार्यपालिका सदस्य हेमकुमारी सुनारी, मिमश्री बयम्बु, खुमीसरा पुलामी, महिला समन्वय समितिकी निर्मला बाकावलले महिला तथा बालबालिका लक्षित कार्यक्रमबाट बालविवाह न्यूनीकरण हुँदै गएको र चालु आर्थिक वर्षमै बालमैत्री पालिका घोषणा गर्ने तयारी भएको बताएका थिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully