बजेटले उत्साहित बुटवल र भैरहवाका व्यवसायी

आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई भैरहवा क्षेत्रका व्यवसायीले सकारात्मक मानेका छन्, तर कार्यान्वयनको पक्षमा अझै चुनौती रहेको बताएका छन् ।

जेष्ठ १५, २०८३

माधव ढुंगाना, घनश्याम गौतम

Businessmen of Butwal and Bhairahawa excited by budget

What you should know

भैरहवा — अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी वर्षको बजेटलाई बुटवलका उद्योगी व्यवसायीले ‘राम्रो’ बजेट भन्दै स्वागत गरेका छन् । बजेटमा आर्थिक हबका रूपमा विकास भइरहेको रुपन्देही उपेक्षामा परे पनि उद्योगीहरूको हितमा रहेको प्रतिक्रिया व्यक्त गरेका छन् । बजेटका धेरै क्षेत्र कार्यान्वयन गर्न सके सकारात्मक रहेको प्रतिक्रिया उद्योगी व्यवसायीहरूको छ ।

बजेटले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने भनेको छ । बुटवल नजिकै निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग भने आगामी आवभित्रै सञ्चालन गर्ने मात्र उल्लेख छ ।

पर्यटन क्षेत्रको विकासका लागि बृहत् लुम्बिनी विकास कार्यक्रमका लागि मात्र सरकारले ८३ करोड बजेट विनियोजन गरेको उल्लेख गरेको छ । त्यस्तै देवदह, रामग्राम, तिलौराकोट र कपिलवस्तु क्षेत्रको बृहत् पूर्वाधार विकास र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने पनि सरकारले उल्लेख गरेको छ ।

त्यस्तै बुटवलबाट पाल्पा हुँदै पोखरा पुग्ने सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, काली गण्डकी चक्रपथ निर्माण गर्ने, प्रादेशिक अस्पताललाई विशिष्टीकृत अस्पतालमा विकास गर्ने विषयहरू यस क्षेत्रका लागि सकारात्मक रहेको व्यवसायीको प्रतिक्रिया छ ।

त्यस्तै कच्चा पदार्थमा भन्सार छुट, औद्योगिक ऐन संशोधन, औद्योगिक क्षेत्रभित्र व्यवसायीले निर्माण गरेका भवनलाई कर्जा प्रवाह गर्ने नीति, उधारो असुली ऐन बनाउने, भ्याटको डिजिटल भुक्तानीमा १० प्रतिशत फिर्ता, ३६० वस्तुमा अन्तःशुल्क खारेजजस्ता विषय उद्योग व्यवसायीका लागि उपलब्धिमूलक रहेको नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष एवं रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष एजाज आलमले बताए ।

Businessmen of Butwal and Bhairahawa excited by budget

अघिल्ला वर्षहरूमा आउने गरेका कतिपय प्रावधान कार्यान्वयनमा जान नसके पनि अहिलेका विषय कार्यान्वयन हुने सम्भावना देखिएको उनको दाबी छ ।

‘२७३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाउने, ३६० वटा वस्तुमा लाग्ने अन्तःशुल्क खारेजी लगायतका विषयले उद्योगीलाई ठूलै राहत मिल्छ,’ उनले भने, ‘औद्योगिक ऐन संशोधन, औद्योगिक क्षेत्रभित्र व्यवसायीले निर्माण गरेका भवनलाई कर्जा प्रवाह गर्ने नीति, उधारो असुली ऐन बनाउने, भ्याटको डिजिटल भुक्तानीमा १० प्रतिशत फिर्ता लगायतका प्रावधान पनि अत्यन्तै सकारात्मक छन् ।’ कार्यान्वयन गर्न सके सरकारको आगामी वर्षको आर्थिक र औद्योगिक नीति देशको हितमा रहेको उनले बताए ।

सरकारले भन्सार दर ७ तहमा निर्धारण, ३१ निकाय खारेज, १८ निकाय पुनर्गठन लगायतका विषयलाई पनि व्यवसायीले सकारात्मक भनेका छन् । आर्थिक गतिविधि वृद्धि गर्ने केही क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्ने विषयमा पनि व्यवसायी उत्साहित बनेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले समग्रमा बजेट राम्रो भएको बताए । गौतम बुद्ध विमानस्थल, मोतीपुर औद्योगिक क्षेत्र सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्नु सकारात्मक भएको उनले बताए ।

‘मोतीपुर औद्योगिक क्षेत्र निर्माण र सञ्चालन, धौवादी फलाम खानी सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने विषय अत्यन्तै सकारात्मक रूपमा लिन सकिन्छ,’ उनले भने, ‘मोतीपुर क्षेत्रको विवाद सरकारले निरूपण गर्नुपर्छ ।’ तर, सार्वजनिक क्षेत्रमा गरिएको तलब वृद्धिले निजी क्षेत्रमा श्रमिकको समस्या बढ्न सक्ने, मूल्यवृद्धि नियन्त्रणबाहिर जान सक्ने लगायतका केही अप्ठ्यारा विषय भएकाले तिनको निरूपण सरकारले कसरी गर्छ भन्ने हेर्नुपर्ने उनले बताए । सञ्चालन खर्चको अनुपातमा सरकारले राजस्व असुली बढाउने विषय पनि चुनौतीपूर्ण रहेको उनको दाबी छ ।

ΟΟΟ

भैरहवाका उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश अग्रवालले अहिलेको बजेट निकै सकारात्मक रहेको बताए । सेयर बजारदेखि उद्योग व्यवसाय चलायमान बनाउनेसम्मका योजना बजेटमा समेटिएको भनाइ उनको छ ।

‘यो बजेट वितरणमुखी नभएर विकासमुखी छ,’ अग्रवालले भने, ‘विभिन्न वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेजीले चोरी पैठारीलाई रोक्नेछ । बजेट वैज्ञानिक खालको भएकाले म धेरै उत्साहित छु ।’ भौतिक पूर्वाधारमा बढी केन्द्रित र विकास बजेट बढेको प्रतिक्रिया उनले दिए ।

महासंघका केन्द्रीय उपाध्यक्ष तथा भैरहवाका अर्का स्थानीय व्यवसायी कृष्णप्रसाद शर्माले निकासीजन्य उद्योगका बारेमा बजेटले स्पष्ट पार्न नसके पनि निजी व्यवसायीको मनोबल उठाउने खालको रहेकाले सकारात्मक रहेको बताए ।

‘बजेटको कार्यान्वयन पक्षको चुनौती भए पनि महिला, युवा, साना लगानीकर्ता लगायतका उद्यमशीलतालाई प्रोत्साहित गर्न खोजेको छ,’ शर्माले भने, ‘पर्यटन क्षेत्रहरूलाई जोडेर एकीकृत रूपमा पूर्वाधारको विकासमा जोड दिएको र निजी क्षेत्रको आत्मविश्वास बढाउने खालको छ ।’

हाल ३६० वस्तुमा लागिआएको अन्तःशुल्क खारेज गरेको, भन्सार विन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरजस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको लगायतका प्रावधानलाई भैरहवा क्षेत्रका व्यवसायीले सकारात्मक रूपमा लिएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले समग्रमा बजेट स्वागतयोग्य र उद्यमी व्यवसायीको पक्षमा रहेको प्रतिक्रिया दिए । ‘बजेटले उद्यमी व्यवसायीलाई उत्साहित बनाएको छ,’ आचार्यले भने, ‘व्यवसायीलाई विभिन्न छुट तथा सुविधा दिने भनिएसँगै कर संकलन कसरी बढाउने भन्नेमा पनि बजेटले उपाय खोजेको छ ।’

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले अहिलेको बजेटले विकास निर्माणदेखि पर्यटन क्षेत्र र भौतिक पूर्वाधारदेखि उद्योग व्यवसायी सबैलाई सकारात्मक ढंगले समेटेको बताए । ‘बजेटले सबै प्रदेशलाई सन्तुलित ढंगले विकास निर्माणबाट समेत समेटेको छ,’ साहूले भने, ‘मैले अहिलेसम्म सुनेको बजेटमध्ये उत्कृष्ट लागेको छ ।’

बजेटले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउने, पर्यटन क्षेत्रको विकास, कसरी खर्च विनियोजन गर्ने, आर्थिक स्रोत कसरी संकलन गर्ने लगायतका सबै विषयवस्तुलाई समेटेको उनले बताए ।

औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी माल वस्तुभन्दा कम्तीमा एक तह न्यून हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको र विद्यमान एघार तहको भन्सार दरलाई सात तहमा सीमित गरिएको प्रावधानले व्यवसायीलाई उत्साहित बनाएको उनको भनाइ छ ।

चेम्बर अफ कमर्स रुपन्देहीकी महासचिव लक्ष्मी अधिकारीले बजेट धेरै उत्कृष्ट रहेको बताइन् । मुलुकको भौगोलिक अवस्थादेखि सबै पक्षलाई राम्ररी अध्ययन गरेर बजेटमा समेटिएको उनले बताइन् ।

‘महिला, कृषक, युवा, निजी लगानी क्षेत्र सबैलाई समेटेर बजेटमा सम्बोधन गरिएको छ,’ उनले भनिन्, ‘बजेट कार्यान्वयन हुनेमा पनि म विश्वस्त छु ।’ अहिलेको विद्यमान कमजोर अर्थतन्त्रको बेलामा पनि सबै पक्षलाई अनुकूल हुने गरी बजेट ल्याउनु भनेको आफैँमा सामान्य कुरा नभएको उनले बताइन् ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully