लुम्बिनी प्रदेशको नीति कार्यक्रम बहुमतले पारित

थारु समुदायका प्रथाजनित परम्पराको संरक्षणसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल सुरु ।

जेष्ठ १३, २०८३

घनश्याम गौतम

Lumbini Province's policy program passed by majority

बुटवल — लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठकले बुधबार आर्थिक वर्ष २०८३८४ को वार्षिक नीति कार्यक्रम बहुमतले पारित गरेको हो । 

मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८३८४ को वार्षिक नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त  प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले वार्षिक नीति कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री आचार्यले नीति कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै नीति कार्यक्रमका आधारमा सरकारले बजेट निर्माण गर्ने स्पष्ट पारेका थिए ।

विपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा सम्बोधन गरेका थिए । बुधबारको बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षणसम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राखेका थिए । सदस्यहरूको विधेयकमाथिका जिज्ञासाको मन्त्री तिमिल्सिनाले जवाफ दिएका थिए ।

यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेस गरेका थिए । आगामी बैठक सूचनाद्वारा जानकारी गराइने प्रदेश सभा सचिवालयले जनाएको छ ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully