मालिकामा हावाहुरीको वितण्डा, दुई सयभन्दा बढी घरगोठमा क्षति

सोमबार राति ८ बजेदेखि ९ बजेसम्म आएको तीव्र हावाहुरीले सयौं घरगोठ तथा संरचनामा क्षति पुर्‍याएको हो ।

जेष्ठ १२, २०८३

सन्तोष महतारा

Storm damages more than 200 homes in Malika

गुल्मी — गुल्मीको मालिका गाउँपालिकाका अधिकांश वडामा हावाहुरीले वितण्डा मच्चाएको छ । सोमबार राति ८ बजेदेखि ९ बजेसम्म आएको तीव्र हावाहुरीले सयौं घरगोठ तथा संरचनामा क्षति पुर्‍याएको हो ।

हावाहुरीले नेटा, दर्लिङ र घमिरका धेरै ठाउँका संरचनामा क्षति पुगे पनि प्रहरीले घमिरको मात्रै हालसम्म तथ्यांक एकीकृत गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार, ४५ वटाभन्दा बढी संरचना घमिरमा मात्रै क्षतिग्रस्त छन् । अन्य क्षेत्रमा क्षतिको विवरण संकलन जारी रहेको उनले बताए ।

पानीसहितको हावाहुरीले घरगोठका छानो तथा शौचालयको छानो र विद्यालयमा समेत क्षति पुगेको थियो । अधिकांश संरचनाको छानो उडाएको छ । मुसिकोट नगरपालिका वडा नम्बर २ र ३ का पनि केही संरचनामा क्षति पुगेको छ । मदाने गाउँपालिका-१ मा पनि एक संरचनामा क्षति पुगेको हो । मालिकाका अन्य ठाउँमा पनि ठुलो परिणाममा क्षति पुगेको छ । प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले १५० भन्दा बढी घरमा क्षति पुगेको विवरण आइसकेको र यो संख्या २०० भन्दा बढी हुने बताए । उनले प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको बताए । अध्यक्ष अर्यालसहित मालिकामा मात्रै २०० भन्दा बढी संरचनामा क्षति पुगेको अनुमान छ ।

यस विषयमा मंगलबार सांसद गोविन्द पन्थीले संसद्को आकस्मिक समयमा बोल्दै मालिकामा हावाहुरीका कारण विस्थापित १५० घरपरिवारका ६०० जनाई तत्काल राहत प्रदान गर्न माग गरेका थिए । उनले अस्थायी बसोबाससहित पीडितलाई सरकार भएको महसुस गराउनुपर्ने माग राखेका हुन् ।

सन्तोष

Link copied successfully