विषालु च्याउ खाएर पाल्पामा थप एक जनाको मृत्यु, दुई सातामै ४ जनाको ज्यान गयो

जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाका सबै स्थानीय तहलाई स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । कार्यालयले जंगलका कुनै पनि च्याउ नखान अपिल गरेको छ ।

जेष्ठ १२, २०८३

माधव अर्याल

One more person dies in Palpa after eating poisonous mushrooms, bringing the total number of deaths to 4 in two weeks

What you should know

पाल्पा — पाल्पामा जंगली विषालु च्याउको तरकारी खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४, मित्याल भीरपानीका ६२ वर्षीय धनबहादुर परियारको मंगलबार मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले बताए ।

उनका अनुसार च्याउको तरकारी खाएर बिरामी परेका परियारको उपचारका लागि मध्यविन्दु अस्पताल नवलपुरमा लगिएको थियो । मध्यविन्दुमा उपचार सम्भव नभएपछि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि लगे पनि अस्पतालले अवस्थामा सुधार नआएपछि घर फिर्ता पठाएको थियो । 

उनीसँगै श्रीमती ६५ वर्षीया उर्मिला परियार भने उपचारपछि सामान्य अवस्थामा आएपछि घर फर्किएकी छन् । मित्यालको भीरपानी घर भए पनि दुवै जना बेंसी (अरुणखोलातर्फ) गोठमा बस्दै आएका थिए । मगर भाषामा ‘ग्वारु मुगन’ भन्ने जातको च्याउ खाएर उनीहरु बिरामी परेको स्वास्थ्य शाखा प्रमुख मगरले बताए । हेर्दा गुच्छा जस्तो देखिने र खाँदा मिठो हुने भएकाले गाउँमा यस्ता च्याउ सेवन गर्ने गरेको उनले बताए । 

यसअघि पाल्पामा रम्भा गाउँपालिका–५, ताँहु खलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाका साथै तानसेन नगरपालिका–८, मदनपोखरा कोकलका ८ वर्षीय अनुप रानाको उपचारका क्रममा मृत्यु भएको थियो । कामु मगर र खाम्चाको मिसन अस्पताल र रानाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जंगली विषालु च्याउ सेवन गरेर जेठ १ गतेदेखि १७ जना बिरामी परेका थिए । 

जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाका सबै स्थानीय तहलाई स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ । कार्यालयले जंगलका कुनै पनि च्याउ नखान अपिल गरेको हो । स्वास्थ्य शाखाले विद्यालय, समुदायमा पुगेर सचेतनामूलक कार्यक्रम गरेको जनाएका छन् ।

तानसेन नगरपालिका, रम्भा गाउँपालिका, निस्दी गाउँपालिकाले विद्यालयमा शिक्षा दिनुका साथै अभिभावकलाई भेटर जानकारी गराएको छ । आगामी दिनमा जंगलबाट खोजेर ल्याएको च्याउ सेवन गर्न नहुने सम्झाएको तानसेन नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक चन्द्रतारा बस्यालले बताए । च्याउ टिप्ने, बेच्ने र पकाएर खाने काम नगर्न स्वास्थ्य शाखाहरुले आग्रह गरेको उनले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully