भैरहवामा एक नाबालकसहित तीन बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार भैरहवास्थित मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर कक्षा ८ मा अध्ययनरत दुई जना विद्यार्थी र एक जना नाबालकको मिनीरोलरले च्याँप्दा मृत्यु भएको हो ।

जेष्ठ १२, २०८३

माधव ढुंगाना

Three children, including a minor, die in Bhairahawa

What you should know

भैरहवा — दुई अलग घटनामा सोमबार भैरहवामा तीन जना बालकको मृत्यु भएको छ । किशोर अवस्थाका दुई जना विद्यार्थीको पौडी खेल्ने क्रममा डुबेर र रोलरले च्यापिँदा १४ महिने एक बालकको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार भैरहवास्थित मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर कक्षा ८ मा अध्ययनरत दुई जना विद्यार्थीको सोमबार मृत्यु भएको हो । 

मृत्यु हुनेमा रूपन्देहीको मायादेवी गाउँपालिका–६ खजुरिया स्थायी घर भई हाल सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी बस्ने १३ वर्षीय प्रिन्स चौधरी र रूपन्देहीको सम्मरीमाई गाउँपालिका–६ असुरैना स्थायी घर भई हाल सिद्धार्थनगर–४ सुगरमिलमा कोठा भाडामा बस्ने १६ वर्षीय सुरज गुप्ता रहेका छन् । 

गुप्ता भैरहवास्थित साई ग्लोबल माध्यमिक विद्यालयमा कक्षा ८ मा र चौधरी भैरहवास्थित लीलाराम माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी दिनेश कुँवरले बताए । 

उनीहरू डुबेको जानकारी पाउनासाथ उद्धारका लागि प्रहरी घटनास्थल पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो । डुबेको अवस्थामै प्रहरीले दुवै जनाको शव निकालेको हो । दुवै जनाको भीम अस्पताल भैरहवामा पोस्टमार्टम गरिएको छ । यसैगरी, सोमबार बेलुकी सिद्धार्थनगर नगरपालिकास्थित सिद्धार्थ रङ्गशालाभित्र मिनी रोलरले च्याप्दा १४ महिने नाबालकको मृत्यु भएको छ । 

रङ्गशालाभित्र चाबी खुलै राखिएको अवस्थामा एउटा मिनी रोलरमा खेल्ने क्रममा जुम्लाको पातारासी गाउँपालिका–७ घर भई हाल रूपन्देही बस्ने नमु बुढाका छोरा १४ महिने नाबालक आयुश बुढाको च्यापिएर मृत्यु भएको हो । नमु बुढा त्यही रङ्गशालामा काम गर्ने मजदुर हुन् । 

नमु बुढाका ४ वर्षीय छोरा आशिष बुढाले खेल्ने क्रममा अचानक उक्त रोलरको ह्यान्डिल चलाउँदा चाबी खुलै रहेको रोलर गुड्दा उनका १४ महिने भाइ आयुश रोलरमा च्यापिन पुगेका थिए । च्यापिएर टाउकोमा गम्भीर चोट लागेको आयुशको उचारका क्रममा भीम अस्पतलामा मृत्यु भएको हो । 

रोलरको चाबी लापरबाहीपूर्ण तरिकाले खुलै छोडेको आरोपमा रोलर चालक सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ६५ वर्षीय जंगबहादुर थापालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान जारी रहेको कुँवरले बताए ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully