अर्घाखाँचीमा रासायनिकको विकल्प बन्दै गड्यौला मल

गड्यौला मलको प्रयोगले किसानले रासायनिक मलप्रति निर्भरता घटाएका छन्, यसले उत्पादनसँगै आम्दानी बढाउन पनि सहयोग पुर्‍याएको छ।

जेष्ठ १०, २०८३

वीरेन्द्र केसी

Worm fertilizer becoming an alternative to chemicals in Arghakhanchi

What you should know

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका युवा कृषक मधु केसीले व्यवसायीक कृषि उद्यम गर्न थालेको डेढ दशकभन्दा बढी भयो । उनले पहिला गाइभैसीको गोबरमल र युरिया खेतबारीमा राखेर अन्न, तरकारी उत्पादन गर्थे ।

पछिल्लो समय उनले रासायनिक मल प्रयोग गर्दैनन् । गड्यौला मल बनाएर तरकारी खेती र अन्नबालीमा राख्छन् । ‘गड्यौला मल तरकारी खेतीमा राख्न थालेपछि उत्पादन झण्डै दोब्बर भयो,’ केसीले भने, ‘गोबर भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ । अन्नबाली, फलफुलका बोटमा पनि यही मल राखेका छौं ।’ 

१५ रोपनी भन्दा बढी खेतमा तरकारी खेती छ । प्लाष्टिक टनेलमा बाह्रै महिना तरकारी उत्पादन हुन्छ । ‘गोबर मल राख्दा चार/पाँच किलो फल्ने गोलभेडा, गड्यौला मलले सात किलोसम्म फल्यो । विरुवा हर्लक्क हुने, फल राम्रो दिने र स्वस्थ्य हुनेगर्छ ।’   

उनको गोठमा सात वटा दुहुना गाई छन् । दैनिक ५० लिटरभन्दा बढी दूध बिक्री हुन्छ । गाइको गोबर मललाई उनले गड्यौला मल बनाउँछन् । बाह्रै महिना बेमौसमी तरकारी खेती टनेलभित्र र बाहिर खेतमा उब्जनी भएको छ । ‘गड्यौला मलले उत्पादन बढी दिएपछि आम्दानी पनि बढ्यो,’ उनले भने, ‘तरकारी, अन्नबाली, दूधलगायतका वस्तु बिक्रीबाट वर्षमा १५ लाख रुपैयाँ बढी कारोबार भएको छ ।’ केसीले गड्यौला मल बिक्री पनि गर्छन् । गतवर्ष ६० क्विन्टल मल बिक्री भयो । प्रतिकिलो ३० रुपैयाँमा बिक्री हुन्छ । बजारमा कौसी खेती गर्ने र  अन्न तरकारी, फलफुलका विरुवामा राख्न पनि किसानले घरमै आएर किन्ने गरेको उनले बताए ।

गड्यौला मलको माग धेरै भएको उनले बताए । विगतका वर्षमा सन्धिखर्क नगरपालिकाले उनले उत्पादन गरेको गड्यौला मल किनेर कृषकलाई निःशुल्क वितरण गर्दै आएको थियो ।

अर्घाका बावुराम पाण्डेले पनि दुई वर्षदेखि तरकारी खेतीमा गड्यौला मल राख्दै आएका छन् । १६ वर्षदेखि तरकारी खेती गर्दै आएका उनले सिधैं गोठेमल भन्दा गड्यौला मल प्र्रयोग गर्दा तरकारी दोब्बर जस्तै उत्पादन भएको बताए । 

६० रोपनी खेतबारीमा तरकारी खेती गर्दै आएका उनले उत्पादन बढेपछि आर्थिक कारोबार पनि बढेको बताए । उनकी श्रीमती रिनाले गोठेमल र रासायनिक मलको राम्रो विकल्प गड्यौला मल भएको बताइन् । उनको खेतमा अहिले काक्रा, बन्दगोभी, ब्रोकाउली, लौका, घिरौला फलेको छ । 

केसी र पाण्डेलाई गड्यौला मल बनाउन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले प्राविधिक सहयोग हो । कार्यक्रमले अहिले गड्यौला मल बनाउने मेसिन उपलब्ध गराएको छ । कार्यक्रमका वरिष्ठ कृषि अधिकृत विष्णुबहादुर मग्रातीले थोरै जग्गामा बढी उत्पादन लिन यो मल राम्रो हुने बताए । 

धारापानी गाउँका भेषबहादुर नेपालीले पनि गड्यौला मल राखेर तरकारी खेती गर्छन् । गड्यौला मलले माटोलाई पनि स्वस्थ्य राख्ने भएकाले बाली पनि स्वस्थ हुने कृषि ज्ञान केन्द्र प्रमुख बुद्धिराज घिमिरेले बताए । ‘यो प्राकृतिक मल हो,’ उनले भने, ‘गड्यौला मलले माटोमा एसिडिटी हुन दिँदैन । माटो दीर्घ रुपमा स्वस्थ्य रहन्छ ।’

गड्यौला मल राम्रो भएपछि आगामी बजेटका लागि लुम्बिनी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा जिल्लाका ६ स्थानीय तहमा १२ वटा प्लान्ट निर्माण गर्न प्रस्ताव पेश गरेको उनले बताए । एक पालिकामा दुई वटा मोडल तयार गर्ने गरी कार्यक्रम प्रस्ताव गरेको उनले बताए । उनले घरको भान्साको फोहोर, गोठेमलमा गड्यौला राखेर मल तयार गर्न सकिने बताए । अन्नबाली, तरकारी अर्गानिक उत्पादन गर्नका लागि रासायनिक मलको विकल्प गड्यौला मल बनाउनुपर्ने उनले बताए । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully