गाउँपालिकाले १ करोड ५० लाख बजेट लगानी गरी २७ मिटर लामो बेलिब्रिज निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिए ।
रुकुम पूर्व — जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाले आन्तरिक लगानीबाट मोटरेबल बेलिब्रिज निर्माण सम्पन्न गरेको छ । पालिकाको वडा नं ५ हुकाम र वडा नं १ मैकोट जोड्न सानीभेरी नदीमाथि निर्माण गरिएको बेलिब्रिजको आइतबार पालिका अध्यक्ष पुनीराज घर्तीले उद्घाटन गरेका हुन् ।
गाउँपालिकाले १ करोड ५० लाख बजेट लगानी गरी २७ मिटर लामो बेलिब्रिज निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिए । । ‘यो सडक खण्डमा पुल नहुँदा विगतमा आवत–जावतमा कठिनाइ हुनुका साथै बर्खायाममा आवागन नै रोकिने गरेको थियो । अब पुल बनेपछि यो समस्या धेरै हदसम्म समाधान भएको छ,’ उनले भने, ‘यसले यहाँका जनताको दैनिकीमा सहजता आउनुका साथै पर्यटकीय गाउँ मैकोट जान पनि सहज भएको छ ।’
यसका साथै गाउँपालिकाकै लगानीमा सानीभेरी नदीमै वडा नं ६ डिम्मुरगैरा र ९ खाराबाङ जोड्न तथा उत्तरगंगा नदीमा वडा १० तक र वडा नं ११ शेरा जोड्नका लागि पनि थप दुई वटा बेलिब्रिजको निर्माण कार्य भइरहेको पालिकाले जनाएको छ । पालिकाका अनुसार यी दुईवटा पुलको निर्माण कार्य पनि अबको एक महिनाभित्र सम्पन्न भई सञ्चालनमा ल्याउने तयारी छ ।
