बेलायती मन्त्री सीमा मल्होत्रा लुम्बिनीमा  

लुम्बिनी भ्रमणका क्रममा बेलायत सरकार, युनेस्को र दुर्हाम विश्वविद्यालयको सहयोगमा लुम्बिनी र कपिलवस्तुमा भएको उत्खननबाट धेरै महत्त्वपूर्ण तथ्य उजागर भएकाले ऐतिहासिक र पुरातात्विक स्थलको संरक्षणमा सबैको दायित्व भएको उनले बताइन् ।

जेष्ठ ९, २०८३

मनोज पौडेल

British Minister Seema Malhotra in Lumbini

कपिलवस्तु — बेलायतकी इण्डो प्यासेफिक तथा ईक्वालिटिज् उपमन्त्री सीमा मल्होत्राले लुम्बिनी सबैका लागि प्रेरणा र सद्भाव स्थल रहेको बताएकी छन् । लुम्बिनी भ्रमणका क्रममा बेलायत सरकार, युनेस्को र दुर्हाम विश्वविद्यालयको सहयोगमा लुम्बिनी र कपिलवस्तुमा भएको उत्खननबाट धेरै महत्त्वपूर्ण तथ्य उजागर भएकाले ऐतिहासिक र पुरातात्विक स्थलको संरक्षणमा सबैको दायित्व भएको उनले बताइन् । 

लुम्बिनीपछि उनले राजा शुद्धोदनको राजप्रासाद तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको पुरातात्विक स्थल प्राचीन कपिलवस्तु तिलौराकोट अवलोकन गरेकी थिइन् । लुम्बिनी र कपिलवस्तुमा भएको वैज्ञानिक अध्ययन, अनुसन्धानबारेमा वरिष्ठ पुरातत्वविद‌द्वय कोषप्रसाद आचार्य  र वसन्त विडारी तथा बेलायती पुरातत्वविद् डा. मार्क म्यानुवलले उपमन्त्री मल्होत्रालाई जानकारी दिएका थिए । उक्त अवसरमा नेपालका लागि बेलायती राजदूत रोबर्ट (रोब) फेनसमेत सहभागी थिए । 

त्यस्तै कोटिहवास्थित होटल टाईगर प्यालेसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी उपमन्त्री सिमा मल्होत्राबीच शनिबार भेटवार्ता भएको थियो । उक्त अवसरमा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकास प्राथमिकताबारे छलफल भएको थियो । 

भेटवार्तामा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लीराज अर्याल र बेलायती राजदूत फेन लगायतको उपस्थिति थियो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully