द्वन्द्वकालका यौनहिंसापीडितको स्मृतिमा स्मारक

ग्लोबल सर्भाइभल फण्ड, नागरिक आवाज, नेपाल महिला सामुदायिक सेवा केन्द्र र गाउँपालिकाको सहकार्यमा स्मारक निर्माण गरिएको हो ।

जेष्ठ ८, २०८३

दुर्गालाल केसी

Memorial in memory of victims of conflict-era sexual violence

दाङ — नेपालमा २०५२ देखि १० वर्षसम्मा चलेको सशस्त्र द्वन्द्वका क्रममा यौनहिंसापीडित भएका महिलाहरूको स्मृतिमा स्मारक निर्माण गरिएको छ । बंगलाचुली गाउँपालिका–५ स्थित भ्यूटावर परिसरमा स्मारक निर्माण गरिएको हो ।

स्मारकको बिहीबार अनावरण गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ, बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन, उपाध्यक्ष भक्तबहादुर जीसी, नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला योगी, वर्तमान अध्यक्ष कल्पना न्यौपाने लगायतले स्मारक अनावरण गरेका थिए ।

दाङमा १ सय ५ जना सशस्त्र द्वन्द्वमा यौनहिंसापीडित महिला सम्पर्कमा आएको र उनीहरूलाई नियमित मनोपरामर्श गरिरहेको नागरिक आवाजका कार्यक्रम प्रबन्धक हरिबहादुर धामीले बताए ।

ग्लोबल सर्भाइभल फण्ड, नागरिक आवाज, नेपाल महिला सामुदायिक सेवा केन्द्र र गाउँपालिकाको सहकार्यमा स्मारक निर्माण गरिएको हो ।

देशभर ४ हजार बढी यौनहिंसापीडित महिलाले सत्य निरुपण तथा मेलमिलाप आयोगमा न्यायका लागि निवेदन दिएका छन् । अन्य द्वन्द्वपीडितका सवालमा केही काम भए पनि यौनहिंसापीडित महिलाका सवालमा भने न्यायका लागि काम नभएको पीडितहरूको गुनासो छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully