लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम स्वीकृत

प्रदेश सरकारले आगामी जेठ ११ गते नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

जेष्ठ ८, २०८३

घनश्याम गौतम

Lumbini Provincial Council of Ministers meeting: Policies and programs approved

बुटवल — लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले वार्षिक नीति कार्यक्रम स्वीकृत गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८३०८४ को वार्षिक नीति कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । 

सरकारले आगामी जेठ ११ गते नीति कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । 

बैठकले नीता पोखरेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा इञ्जिनियर छविराज पोखरेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । पोखरेल यसअघि पनि प्राधिकरण प्रमुख नै थिए । तर, नियुक्ति अवधि सकिएपछि सरकारले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारले आह्वान गरेको खुला प्रतिस्पर्धामा सात जनाले निवेदन दिएका थिए । सरकारले पाँच जनालाई सर्ट लिस्टमा छनोट गरेको थियो । तिनै पाँच जना प्रतिस्पर्धीमध्येबाट सिफारिस समितिले योग्यताक्रमअनुसार तीन जनाको नाम सिफारिस गरेको हो । तिनैमध्ये पहिलो वरीयतामा रहेका पोखरेललाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पन्थीले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully