कपिलवस्तुका १० स्थानीय तहको १९ अर्ब ७३ करोड ६१ लाख २८ हजार रुपैयाँको लेखा परीक्षण गर्दा १८ करोड २४ लाख १९ हजार रुपैयाँ वित्तीय अनुशासनविपरीत खर्च गरेको पाइएको हो ।
What you should know
कपिलवस्तु — जिल्लाका १० स्थानीय तहले गत वर्ष सवा १८ करोड रुपैयाँ बढी बजेट अनियमित तवरले खर्च गर्दा बेरुजु पाइएको छ । आव ०८१/८२ मा सबैभन्दा बढी यशोधरा गाउँपालिका र कम वाणगंगा नगरपालिकाको बेरुजु देखिएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औं वार्षिक लेखा परीक्षण प्रतिवेदनअनुसार जिल्लाका १० स्थानीय तहले १८ करोड २४ लाख १९ हजार रुपैयाँ वित्तीय अनुशासनविपरीत खर्च गरेको उल्लेख छ । १० स्थानीय तहका १९ अर्ब ७३ करोड ६१ लाख २८ हजार रुपैयाँको लेखा परीक्षण गर्दा सो बेरुजु देखिएको हो ।
सबैभन्दा बढी बेरुजु यशोधरा गाउँपालिका र सबैभन्दा कम बेरुजु वाणगंगा नगरपालिकाको रहेको छ । यशोधराको १ अर्ब ३९ करोड ३९ लाख ९ हजार रुपैयाँको लेखा परीक्षण भएकामा ३.१७ प्रतिशत अर्थात् ४ करोड ४१ लाख ९४ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
यस्तै, विजयनगर गाउँपालिकाको १.७६ प्रतिशत बेरुजु देखिएको छ । विजयनगरको १ अर्ब ४७ करोड ७१ लाख १२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २ करोड ५९ लाख ३५ हजार रुपैयाँ बेरुजु पाइएको हो । त्यस्तै शुद्धोधन गाउँपालिकाको १ अर्ब ३७ करोड ५८ लाख ७९ हजार रुपैयाँ लेखा परीक्षण गरेकामा १ करोड ६४ लाख ७६ हजार रुपैयाँ अर्थात् १.२ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । मायादेवी गाउँपालिकाको १ करोड ७२ लाख ७५ हजार रुपैयाँ बेरुजु छ । मायादेवीको १ अर्ब ६४ करोड ६२ लाख ७५ हजार रुपैयाँ लेखा परीक्षण भएकामा १.०५ प्रतिशत बेरुजु देखिएको छ ।
शिवराज नगरपालिकाको बेरुजु शून्य दशमलव ७५ प्रतिशत रहेको छ । २ अर्ब ३० करोड ३५ लाख ६८ हजार रुपैयाँ लेखा परीक्षण गरिएकामा १ करोड ७३ लाख ६८ हजार रुपैयाँ महालेखा परीक्षकको कार्यालयले बेरुजु उल्लेख गरेको छ ।
कपिलवस्तु नगरपालिकाको २ अर्ब ३० करोड ८० लाख ५९ हजार रुपैयाँ लेखा परीक्षण गर्दा शून्य दशमलव ६८ प्रतिशत अर्थात् १ करोड ५६ लाख ८४ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यसैगरी, कृष्णनगर र महाराजगन्ज नगरपालिकाको बेरुजु समान शून्य दशमलव ६१ प्रतिशत रहेको छ ।
कृष्णनगर नगरपालिकाको १ अर्ब ८७ करोड २४ लाख ९९ हजार रुपैयाँ लेखा परीक्षण गर्दा १ करोड १४ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको छ । महाराजगन्ज नगरपालिकाको १ अर्ब ९९ करोड ८७ लाख ९० हजार रुपैयाँ लेखा परीक्षण गर्दा शून्य दशमलव ६१ प्रतिशत अर्थात् १ करोड २१ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
बुद्धभूमि नगरपालिकाको २ अर्ब २५ करोड ९८ लाख ७४ हजार रुपैयाँ लेखा परीक्षण गरेकामा शून्य दशमलव ५८ प्रतिशत अर्थात् १ करोड ३० लाख ५० हजार रुपैयाँ बेरुजु देखिएको छ । वाणगंगा नगरपालिकाको ३ अर्ब १० करोड १ लाख ६३ हजार रुपैयाँ लेखा परीक्षण गर्दा ८८ लाख ४८ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा कम वाणगंगाको बेरुजु शून्य दशमलव २९ प्रतिशत रहेको छ ।
