नेपालगन्जको सञ्जिवनी अस्पतालको बेड नम्बर १४ मा रहेकी रुवि खानको अवस्था अहिले गम्भीर बन्दै गएको छ ।
नेपालगन्ज — विभिन्न माग राखेर २० दिनदेखि आमरण अनशनमा बसेकी रुवि खानको स्वास्थ्य अवस्थाप्रति गम्भीर बन्न र संवादमार्फत समाधान खोज्न अधिकारकर्मीले आग्रह गरेका छन् ।
नेपालगन्जको सञ्जिवनी अस्पतालको बेड नम्बर १४ मा रहेकी खानको अवस्था अहिले गम्भीर बन्दै गएको छ । चिकित्सकले उनलाई स्लाइन पानी चढाइरहेका छन्। यतिका दिन हुँदा पनि उनले उठाएका मुद्दाको संवाद र कानुनसम्मत समाधान नभई स्वास्थ्य अवस्था नै गम्भीर बनेपछि मानवअधिकार रक्षकको टोली मंगलबार अस्पताल पुगेको हो।
वरिष्ठ अधिवक्ता एवं सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका संयोजक सुनिल श्रेष्ठ, इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महत, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष नवीन गिरी, एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम, सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीलगायतको टोलीले खान र उनलाई हेरिरहेका चिकित्सकलाई भेटेर उनको अवस्था बुझेको छ ।
उनीहरूले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय मानवअधिकार आयोगका अधिकारीलाई भेटेर घटनाका बारेमा जानकारी गराउँदै समाधान खोज्न आग्रह गरेका छन् । अधिकारकर्मीले भनेका छन्, ‘नागरिकको बाँच्न पाउने अधिकार तथा स्वास्थ्य अधिकारलाई सम्मान गर्दै रुवि खानले उठाएका माग कानुनसम्मत ढंगबाट समाधान गर्न आग्रह गर्दछौं ।’
उनीहरूले खानलाई पनि सचेत गराउँदै भनेका छन्, ‘स्वास्थ्य र जीवनको संरक्षणलाई ध्यान दिँदै मानवअधिकारका मूल्य, मान्यता र सिद्धान्तअनुरूप आन्दोलनका वैकल्पिक तथा संवादमुखी उपाय अवलम्बन गर्न अनुरोध गर्दछौं ।’
खानले उठाएका नौ वटा घटनाका सम्बन्धमा प्रहरीले काम गरिरहेको बताएको छ।
