चन्दा नदिए उद्योगका गाडी जलाइदिने भन्दै धम्क्याएको दु:खेसो

आफूलाई माओवादी कार्यकर्ता बताउने व्यक्तिले पटक–पटक फोन गरी आर्थिक सहयोग मागेको र दिन अस्विकार गरेपछि भौतिक आक्रमण गर्ने चेतावनी दिएको सिद्धार्थनगर–८ का व्यवसायी भरतकुमार पोखरेलले बताए ।

जेष्ठ ५, २०८३

माधव ढुंगाना

Sad news: Industry threatens to burn vehicles if donations are not made

भैरहवा — ‘नेकपा माओवादी’का नामबाट माग गरिएको चन्दा नदिए उद्योगका गाडी जलाइदिने भन्दै धम्काएको यहाँका एक व्यवसायीले दु:खेसो पोखेका छन् । 

सिद्धार्थनगर–८ का व्यवसायी भरतकुमार पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरेर माग गरिएबमोजिम चन्दा नदिए रेडिमिक्स उद्योगका सवारी साधन जलाइदिने भन्दै धम्काएको सार्वजनिक गरेका हुन् । उक्त संगठनका नाममा उद्योगमा पत्र पठाएर चेतावनी दिइएको छ । 

नेकपा (माओवादी) केन्द्रीय समितिको लेटरप्याडमा छापसहितको पत्र पठाइएको छ । २०८३ वैशाख २९ को मिति उल्लेख गरिएको उक्त पत्रमा पत्र संख्या, चलानी नम्बर र पार्टीको छापसमेत प्रयोग गरिएको छ । पोखरेलले सञ्चालन गरेको चैतन्य रेडिमिक्स कंक्रिट प्रालिका नाममा पत्र काटेर चन्दा माग गरिएको हो । 

आफूलाई माओवादी कार्यकर्ता बताउने व्यक्तिले पटक–पटक फोन गरी आर्थिक सहयोग मागेको र दिन अस्विकार गरेपछि भौतिक आक्रमण गर्ने चेतावनी दिएको पोखरेलले बताए । 

‘उक्त सहयोग माग गरिएको पत्र र व्यक्ति वास्तविक रूपमा को हुन् ? मलाइ थाहा छैन । मैले आर्थिक सहयोग दिन नसक्ने बताएपछि भौतिक आक्रमण गर्ने धम्की दिइएको हो,’ पोखरेलले भने, ‘यसबारेमा मैले प्रहरी र प्रशासनिक निकायलाई सबै जानकारी गराएकाले छानबिनसहितको कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेको छु ।’

आफूसँग आर्थिक सहयोग माग गर्ने र धम्की दिने व्यक्तिको मोबाइल नम्बरसमेत प्रशासनिक निकायलाई उपलब्ध गराएको उनले बताए । ‘जनविद्रोह’को कदम अगाडि बढाइएको र जनमुक्ति सेना परिचालन गर्न आर्थिक सहयोग चाहिएकाले विशेष आर्थिक अभियान संचालन गरिएको कुरा पत्रमा उल्लेख छ ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully