महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार धुर्कोट गाउँपालिकामा १ अर्ब ३८ करोड ६७ लाख ५१ हजार रुपैयाँको लेखापरीक्षण गरिएकमा कुनै पनि रकम बेरुजु आएन ।
What you should know
गुल्मी — गुल्मीको धुर्कोट गाउँपालिकाको बेरुजु शून्य आएको छ । हालैमात्र सार्वजनिक आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षणमा बेरुजु शून्य देखिएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार धुर्कोट गाउँपालिकामा १ अर्ब ३८ करोड ६७ लाख ५१ हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । जसमध्ये कुनै पनि रकम बेरुजु आएन । गुल्मीको धुर्कोटसहित पर्वतको महाशिला गाउँपालिका र काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको पनि बेरुजु शून्य आएको छ । महाशिलाले ८१ करोड ८४ लाख ८३ हजार र महाभारतले १ अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँ लेखापरीक्षण गराएका थिए ।
गुल्मीका अन्य पालिकाको बेरुजु रकम भने केहीमा घट्दो र केहीमा बढ्दो क्रममा देखिएको छ । जसअनुसार छत्रकोट गाउँपालिकाको ८ लाख, मालिकाको ११ लाख, सत्यवतीको २८ लाख, मदानेको ३३ लाख र इस्मा गाउँपालिकाको ४७ लाख रुपैयाँ बेरुजु आएको छ । त्यस्तै रेसुंगा नगरपालिकाको ७४ लाख, रुरुक्षेत्र गाउँपालिकाको ८४ लाख, गुल्मीदरबारको ९० लाख र कालीगण्डकीको १ करोड ६ लाख रुपैयाँ बेरुजु आएको छ ।
त्यस्तै चन्द्रकोट गाउँपालिकाको १ करोड २३ लाख र मुसिकोट नगरपालिकाको ४ करोड ३७ लाख रुपैयाँ बेरुजु आएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
शन्यू बेरुजु आएपछि धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले विगतका प्रतिवेदनमा पाएको सल्लाह सुझावलाई कार्यान्वयन गरेपछि सफल भएको बताए । 'चार वर्षअघि शून्य बेरुजु गराएका प्यूठानका पालिकाको अनुगमन गरेका थियौं,' उनले भने, 'क्रमशः मिहिनेत गर्दैआएपछि हामीले यसपटक बेरुजु शून्यमा झार्न सफल भयौं ।' आगामी दिनमा यसै गरी नियम, नीति र विधि अनुसार भुक्तानी प्रणालीलाई अगाडि बढाएर बेरुजु सकेसम्म शून्यमै कायम गर्ने पनि उनको भनाइ छ ।
