मालपोत कार्यालय भैरहवाका नासुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सेवाग्राहीबाट २ लाख घुस लिएको अभियोग ।

जेष्ठ ४, २०८३

घनश्याम गौतम

Corruption case filed against Nasu of Land Revenue Office, Bhairahawa

बुटवल — मालपोत कार्यालय भैरहवामा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुसबापत २ लाख रुपैयाँ रकम लिएको अभियोगसहित उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए । 

प्रवक्ता न्यौपानेका अनुसार खाम्चाले जग्गाको नयाँ श्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्दै आयोगमा उजुरी परेको थियो ।

अनुसन्धानका क्रममा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले वैशाख ४ गते खाम्चालाई सेवाग्राहीबाट लिएको २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । थप अनुसन्धानका क्रममा खाम्चाले जीर्ण श्रेस्ता कायम गरी अपुताली जग्गा नामसारीसमेतका काम गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको प्रवक्ता न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले उनीविरुद्ध कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको हो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully